Latest

काभ्रेमा बाम गठबन्धन झण्डै चालिस हजार मतले अगाडी

जनतामाझ लोकप्रिय बन्दै एमाले नेता बाँस्कोटा

Public Date:-2017-10-27

काभ्रे– प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएसँगै काभ्रे जिल्लाको राजनीतिक माहौल तातेको छ । उम्मेदवारी दर्ता गर्ने दिन नजिकिएसँगै उम्मेदवारको चर्चा पनि बढ्न थालेको छ ।

बाम तालमेल भएपछि काँग्रेस काभ्रेमा गठबन्धनभन्दा धेरै पछि छ । काँग्रेसका तर्फबाट काभ्रेको क्षेत्र नं. १ मा तीर्थ लामा र क्षेत्र नं. २ मा मधुप्रसाद आचार्य उम्मेदवार हुने निश्चित भएको छ भने नेकपा एमालेका तर्फबाट गोकुल बाँस्कोटा काभ्रे क्षेत्र नं. २ मा सर्वसम्मत सिफारिस भइसकेका छन् । भने क्षेत्र नं. १ मा नेकपा माओवादी केन्द्रबाट सूर्यमान दोङ उम्मेदवार हुने बताइएको छ ।

निर्वाचन नजिकिएसँगै काभ्रे क्षेत्र नं. २ मा दुई बौद्धिक नेताको भिडन्त पर्ने भएकाले यसलाई रोचक हिसावले हेरिएको छ । नेकपा एमाले काभ्रेबाट सर्वसम्मत सिफारिस भएका बाँस्कोटा नेकपा एमालेका खरो र हठी स्वभावका मानिन्छन् । तर पनि उनको काम गर्ने शैलीप्रति भने काभ्रेली जनता खुल्ला हृदयले प्रसंसा गर्छन् । २०७० सालको निर्वाचनमा पार्टीको आन्तरिक कारणले पराजित भएका बाँस्कोटा २०७० पछि जनतामाझ निकै लोकप्रिय समेत बनेका छन् । निर्वाचन अघि आफुले गरेका प्रतित्रद्धतालाई पराजित भए पनि एकपछि अर्को गर्दै पुरा गर्दै गएका बाँस्कोटा २०७२ सालको भुकम्पका बेला पीडितहरू उद्धार र राहत वितरण गर्ने कार्यमा पनि निकै खटिएका थिए ।

नेकपा एमाले मात्र नभएर काभ्रे जिल्लाका आम जनताले जिल्लाको लागि राम्रो सम्भावनाका रुपमा हेरिएका बाँस्कोटा जिल्लाको विकास निर्माणका हरेक क्षेत्रमा सहभागि छन् । बाँस्कोटा उठे एक भोट दिनुपर्छ भन्ने मतदाता पनि धेरै भेटिन्छन् आजकल बजारमा । मानै काभ्रे जिल्लाका जनताको एकमात्र भरोसा हुन् बाँस्कोटा । जिल्लाका विभिन्न स्थानका चिया पसलमा समेत बाँस्कोटाको राम्रै चर्चा हुने गरेको छ । केन्द्रीय राजनीतिमा राम्रो पकड बनाएका बाँस्कोटा स्थानीय तहको निर्वाचनमा काभ्रेको मण्डनदेउपुर, बनेपा, पनौती, खानीखोला, बेथानचोक लगायतका स्थानीय तहको निर्वाचन कमाण्डरका रुपमा खटिएका थिए ।

पार्टी राजनीतिमा केपी ओली खेमाका बाँस्कोटाको भूमिकाले काभ्रेमा एमालेलाई राम्रो सफलता समेत मिलेको थियो । उनकै नेतृत्व र रणनीतिमा नेकपा एमालेले काभ्रेमा पहिलो पटक बनेपा नगरपालिकामा विजय हासिल गरेको थियो । जसका कारण पनि कार्यकर्ताहरू गोकुल बाँस्कोटालाई नै उम्मेदवार बनाउनुपर्ने विचार व्यक्त गर्छन ।

उता नेपाली काँग्रेसका बौद्धिक नेताका रुपमा चिनिने मधु आचार्य पछिल्लो समय काभ्रेमा आफ्नो नेतृत्व बनाउन सफल भएका छन् । विगतका वर्षहरूमा आचार्यलाई नेपाली काँग्रेसका सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाइएको थियो । एउटा कार्यक्रममा त आचार्यले कुर्सीको झटारो पनि आएका थिए । उनै आचार्य अहिले नेपाली काँग्रेस काभ्रेको जिल्ला सभापति भएका छन् । स्थानीय निर्वाचनमा काभ्रेमा लज्जास्पद हार व्यहोरोको काँग्रेसलाई लोकतान्त्रिक गठबन्धनले पनि छुने अवस्था नरहेको नेपाली काँग्रेस काभ्रेका नेताहरू बताउँछन् ।

के छ काभ्रेमा राजनीतिक दलहरूको अवस्था ?

हालै सम्पन्न स्थानीय तहको निर्वाचनको मतका आधारमा भन्ने हो भने पनि नेपाली काँग्रेस धेरै पछाडी छ । स्थानीय तहको निर्वाचनमा हालको निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेको मत २६ हजार ५ सय ७ छ भने नेपाली काँग्रेसका २८ हजार ७ सय २० छ । नेकपा माओवादी केन्द्रको मत १९ हजार ४ सय २७ छ । यो क्षेत्रमा बाम गठबन्धन १७ हजार २ सय १४ मतले अगाडी छ ।

यसैगरी स्थानीय निर्वाचनकै आधारमा हेर्ने हो भने पनि काभ्रे क्षेत्र नं. २ मा नेकपा एमालेको मत ४१ हजार १ सय ५० छ । नेपाली काँग्रेसले ३५ हजार ४ सय ८१ मत प्राप्त गरेको छ भने नेकपा माओवादी केन्द्रले ११ हजार ७ सय ७० मत प्राप्त गरेको छ । यो क्षेत्रमा नेकपा एमाले एक्लै ५ हजार ६ सय ६९ मतले अगाडी छ भने गठबन्धनको मत १७ हजार ४ सय ३९ मतले अगाडी छ । यो हिसावले हेर्ने हो भने पनि काभ्रेमा बाम गठबन्धनको जित सुनिश्चित छ ।

Comment Here!

सम्बन्धित