Latest

प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको उम्मेदवारी दर्ता आज

Public Date:-2017-10-22

काठमाडौं— मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता आज हुँदैछ । निर्वाचन आयोगले तोकेको पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ । यो निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । मनोनयन दर्ताका लागि बिहान १० देखि अपराहृन ५ बजेम्म समय तोकिएको छ ।

पहिलो चरणमा सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुंगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखामा चुनाव हुँदैछ । यसैगरी पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा पनि पहिलो चरणमा निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचन हुने प्रणालीतर्फ मनोनयन दर्ता गर्दा वा गराउँदा एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरी सहीछाप गर्नुपर्ने नियम रहेको छ । प्रस्तावक र समर्थक सोही निर्वाचन क्षेत्रअन्तर्गतको गाउँपालिका वा नगरपालिकाको वडा सदस्यको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा समेत मनोनयन पत्रमा संलग्न गराउन पर्ने कानुनी व्यवस्था छ ।

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएकाले प्रत्यक्ष तर्फको निर्वाचनमा उम्मेदवारी दिन पाउने छैनन् । भने प्रदेश सभा सदस्यतर्फ पहिलो हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारले भने मनोनयनपत्रका साथ नेपाली नागकिरताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी जम्मा गरेको रसिद र प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । यसैगरी दलको उम्मेदवारको हकमा दलको औपचारिकपत्रसमेत समावेश गर्नुपर्ने व्यवस्था छ ।

उम्मेदवार हुन चाहनेले जिल्ला सदरमुकाममा खोलिएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराउनु पर्नेछ ।

Comment Here!

सम्बन्धित