Latest

२०६ को चलखेलबारे बहस सुरु : २०६ भित्र रावण शैली

Public Date:-2017-08-22

 काठमाडौं– गठन भएको एक वर्षमा भुइँचालो नै गएको नयाँ शक्ति नेपालमा अहिले २०६ को चलखेलमा बहस सुरू भएको छ ।

संयोजक डा. बाबुराम भट्टराईको खास सहयोगी तथा भरोसा ठानिएका नेता देवेन्द्र पौडेललगायतले छुट्टै पत्रकार सम्मेलन गरी पार्टीलाई माओवादीसँग ध्रुवीकरणको बाटोमा लानुपर्ने धारणा अघि सारेपछि उनीलगायतलाई नयाँ शक्तिले कारवाही गरेको थियो । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

तर, त्यो कारवाहीको साटो नयाँ शक्तिका २ सय ६ जना आफ्नो साथमा रहेको भन्दै पौडेलले अर्को विज्ञप्ति जारी गरेपछि त्यसैमाथि चलखेल सुरू भएको हो । नीतिविपरित काम गरेको भन्दै पार्टीबाट निष्काशित गरेकाहरूको पक्षमा निकालिएको वक्तव्यमा आफ्नो नाम समावेश गरिएको भन्दै ५० भन्दा बढी नयाँ शक्तिका नेताहरूले आपत्ति प्रकट गरेका छन् ।

देवेन्द्र पौडेल नेतृत्वको बृहत ध्रुवीकरण संयोजन समितिको समर्थनमा बलाराम पुनद्वारा हस्ताक्षरित एक विज्ञप्तिमा २०६ जना नयाँ शक्तिका नेताहरूको नाम उल्लेख गरिएको थियो । हस्ताक्षररहित उक्त विज्ञप्तिमा बिना जानकारी र आफ्नो चाहनाविपरित नाम उल्लेख गरिएको भन्दै ५० भन्दा बढी नेताहरूले आपत्ति प्रकट गरेका थिए ।

‘हामीलाई फोन आइरहेको छ, धेरै साथीहरूले आपत्ति प्रकट गर्नुभएको छ,’ नयाँ शक्तिका कार्यालय सहसंयोजक प्रल्हाद लामिछानेले भने, ‘अहिलेसम्म दुई दर्जन साथीहरूले फोन गरेर जानकारी दिइसक्नु भएको छ, लिस्टमा राखिएका आधाभन्दा भन्दा बढी नेताहरूले खण्डनसहित विज्ञप्ति जारी गर्ने तयारी गर्नुभएको छ । ’

पूर्वमन्त्री भिमप्रसाद गौतम र संघीय परिषद सदस्यहरू नवराज ढुंगाना, धिरज शिर्पाली, कमला गुरूङ, किरण पासवान, बिनोद चौधरी, भरत अधिकारी, प्रेम न्यौपाने, चन्द्र उदास, तारा भुसाल, कर्मा पहाडी, गनेश कुँवर, माया बल, मुक्ति रिजाल, राधा थापा, पिताम्बर आचार्य, कृष्ण बडु, लिला बहादुर मोक्तान, पेमा शिरी शेर्पा, गोमा सुनार, राजु थापा, विष्णु बस्नेत, योगेन्द्र ढकाललगायतले पौडेल समूहले आफ्नो सहमति बिना नाम राखेकोमा आपत्ति जनाएका हुन् ।

आफुखुसी विज्ञप्तिमा नाम राखेर बदनाम गराउन लागेको भन्दै जिल्लादेखि केन्द्रसम्म रहेका नेताहरूले आपत्ति जनाएका हुन् । बैतडीका संयोजक कृष्ण बडुले भने, ‘असाधारण परिस्थितिमा जन्मेको एक नेपाली जनताको मन मुटु अनि भविष्यसँग जोडिएको नयाँ शक्ति पार्टी नेपाललाई कौरवको नाम दिँदै बाहिएका केहि वास्तविक कौरवका इमानदार हनुमानहरूले मेरो नाम पनि रावणको शैलीको प्रचार गरेको देख्दा म सारै दुःखित छु । उनीहरूको यो शैलीको म निन्दा गर्दछु । ’

देवेन्द्र पौडेलले बाबुरामलाई छाड्दै १५ जना सदस्य लिएर माओवादी प्रवेशको तयारी गरेका छन् । यो तयारीमा जोड दिनका लागि जबरजस्ती २०६ जनाको नाम राखिएको जनाइएको छ । उता, नयाँ शक्ति नेपालले मनलाग्दी हिसावमा नेताको नाम र चरित्र हत्याको काम नगर्न चेतावनी समेत दिइसकेको छ ।

Comment Here!

सम्बन्धित