Latest

संविधान संशोधन विधेयक फेल : देउवाले पाएको मत भन्दा संसोधनमा ४१ मत घटी

Public Date:-2017-08-21

 काठमाडौं– सरकारले संसदमा पेश गरेको संसोधन प्रस्ताव फेल भएको छ । प्रदेशहरुको सीमांकन हेरफेरबारे सिफारिस गर्न संघीय आयोग गठन गर्ने गरी सरकारले ल्याएको संविधान संशोधन विधेयक फेल भएको हो ।

संसद सचिवालयका अनुसार विधेयकको पक्षमा ३४७ मत र विपक्षमा २०६ खसेको थियो । संसदमा ५५३ सांसद उपस्थित थिए । संशोधन विधेयकको विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राप्रपा लगायत विपक्षी दलले विधेयकलाई फेल गराएका हुन् । राष्ट्रिय जनता पार्टी नेपालको माग सम्बोधन गर्न र तराई मधेसमा निर्वाचनको वातावरण बनाउन भन्दै सरकारले संशोधन विधेयक संसदमा प्रस्तुत गरेको थियो ।

संशोधनको पक्षमा सत्तारूढ नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक फोरमलगायतले मत दिएका थिए भने नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायतले विपक्षमा मत दिएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र नेकपा (माले)ले मतदानमा भाग लिएनन् । राजपाले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन पूर्व संविधान संशोधन हुनुपर्ने माग गर्दै आएको सन्दर्भमा सो प्रस्तावमा आज मतदान भएको थियो ।


तराई मधेस केन्द्रीत दलहरुको माग सम्बोधनका लागि भन्दै सरकारले २३ चैतमा संशोधन विधेयक दर्ता गरेको थियो । तर, दुई तिहाई बहुमत नपुग्ने भएपछि लामो समयसम्म विचाराधीन रहेको विधेयक ‘पास फेल जे भएपनि चुनावमा सहभागी हुन राजपा सहमत’ भएसँगै अघि बढाइएको थियो ।

केही दिनको दफावार छलफलपछि संशोधन विधेयक सोमबार निर्णयार्थ पेश भयो तर, पास गर्न आवश्यक दुई तिहाई पुगेन । मतदानका समयमा संसदमा ५५३ सांसद उपस्थित थिए । उनीहरु मध्ये ३४७ ले संशोधन विधेयकको पक्षमा मतदान गरेका छन् भने विपक्षमा २०६ मत खसेको छ ।

मतदान सुरु हुनु अघि नै ५ सांसद भएको मालेले भने प्रक्रियामा भाग नलिने भन्दै बैठक बहिस्कार गरेको थियो । संसदमा हाल ५९२ सांसद छन्, जसको दुई तिहाई ३९५ हुन्छ । तर, सोमबारको मतदानमा संशोधनको पक्षमा ३४७ मत मात्र खसेपछि सभामुख ओनसरी घर्ती मगरले संशोधन विधेयक अस्वीकृत भएको घोषणा गरिन् । लगतै एमालेसहितका विपक्षी सांसदहरुले टेबल ठोकेर खुसी मनाएका छन् ।

संशोधन विधेयकको पक्षमा खसेको मत प्रधानन्त्रीको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाले पाएको भन्दै कम हो । त्यसबेला ५५८ अर्थात अहिले भन्दा ५ सांसद बढी उपस्थित थिए र देउवाले ३८८ मत पाएका थिए । देउवाको पक्षमा उभिएको राप्रपा फुटेका कारण पनि संशोधनको पक्षमा देउवाले पाएको भन्दा ४१ मत परेको छ । कमल थापा नेतृत्वको राप्रपाका १९ सांसदले संशोधन विधेयकको विपक्षमा मतदान गरेका छन् ।

Comment Here!

सम्बन्धित