Latest

नेपाली युवा र अवस्था

Public Date:-2017-08-12

तिलोत्तम पौडेल

शान्ति र विकासको मेरुदण्ड र परिवर्तनका बाहक शक्तिको रुपमा देखिने युवाहरु रोग भोक, अशिक्षा र रोजगारी नपाउँदा पीडित र प्रभावित हुँदै आएका छन् । अरुवर्गको लागि सधै लड्ने युवा वर्गको लागि नयाँ संविधानले केही व्यवस्था गरेको छ ।

नेपालको संविधान २०७२ को भाग ४, मा राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्व अन्र्तगत धारा ५१ (ञ) ७ मा युवाको सम्बन्धमा उल्लेख गरेको छ । संविधानमा राष्ट्रिय विकासमा युवा सहभागिता अभिबृद्धि गर्दे राजनैतिक आर्थिक सामाजिक र सांस्कृतिक अधिकारहरूको पूर्ण उपयोगको वातावरण तयार गर्ने, युवाको सशक्तिकरण र विकासका लागि शिक्षा स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रहरूमा विशेष अवसर प्रदान गर्दै युवाको युवाका व्यक्तित्व विकास गर्ने र राज्यको सर्वाङ्गिण विकासमा योगदानको लागि उपयुक्त अवसर प्रदान गर्ने कुरालाई महŒवका साथ व्यवस्था गर्नु आफैमा सकारात्मक छ ।

नेपालको जनसंख्याको १६–४० उमेर समूहको जनसंख्या ४०.३५ रहेको छ । युवाहरूका निम्ति नेपाल सरकारले चौथो योजनामा युवालाई प्राविधिक शिक्षा र सीपमूलक तालिम मार्फत दक्ष उद्यमशील र आत्म निर्भर बनाउने, राज्यका सबै तहको नीति र निर्णय प्रक्रियामा युवा सहभागिता बढाउने, युवा स्वयम्सेवक परिचालन गर्ने, सामाजिक क्रियाकलापमा युवाको संलग्नता बढाउने रणनीतिहरू सार्वजनिक गरेको छ ।

यसको प्रभावकारी कार्यन्वयनको लागि प्राविधिक शिक्षा तथा क्षमता अभिबृद्धि, उद्यमशीलताको प्रबद्र्धन, युवा प्रोत्साहन, सीपमूलक तालिम, युवा सूचना केन्द्रको स्तरोन्नती, युवा स्वरोजगार कोषको प्रभावकारी परिचालन तथा उपयोग, तालिम एवम् परामर्श कार्य, परम्परागत पेशाको प्रबद्र्धन र आधुनिकिकरण, स्वयसेवा एवम् सेचतनामूलक कार्यक्रम, योजना तर्जुमा कार्यन्वयन र अनुगमन तथा मूल्याङ्कनमा युवाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, स्काउट सेवा विस्तार गर्ने, नैतिक, चारित्रिक गुणको दायित्व बोध गराउने तथा खेलकुदको अभ्यासमा युवाहरूको प्रेरणा जगाउने लगायतको कार्य नीति समेत तय गरेको छ । कागजी पानामा उल्लेखित यस्तो नीतिहरुको पूर्ण कार्यन्वयन हुन सकेको भने देखिदैन ।

युवाहरू विकासको लागि २०६६ सालमा पहिलो पटक र वि.सं. २०७२ मा परिमार्जित राष्ट्रिय युवा नीति २०७२ जारी गरिएको छ । युवा नीतिलाई कार्यन्वयन गर्नका निम्ति राज्य, राजनैतिक र सामाजिक क्षेत्रका युवाहरू सम्मिलित कार्यदलले २०७२ मा नै युथ भिजन (२०१५–२०२५) को दिर्घकालीन रणनीति समेत बनाएको छ । गुणस्तरीय र व्यवसायिक शिक्षा, रोजगारी, उद्यमशिलता र सीपविकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन सहभागिता र नेतृत्व विकास, खेलकुद र मनोरञ्जनका विषयमा दशवर्षे रणनैतिक योजना र कार्यक्रमका पाँच स्तम्भहरू तयार गरेको छ ।

युथ भिजन र युवासँग भएका नीति कार्यक्रमलाई स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म पु¥याउने र नेपाली युवालाई सबल, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै राज्यका हरेक अङ्गमा सार्थक सहभागिता सुनिश्चित गरी नेपाललाई आधुनिक न्यायपूर्ण र समृद्ध राष्ट्र बनाउने दुरदृष्टिका साथ राष्ट्रिय युवा नीतिमा व्यवस्था भए अनुरूपमा राष्ट्रिय युवा परिषद गठन भई केही कार्यहरू प्रारम्भ भएको अवस्था विद्यमान छ ।

युवा तथा खेलकुद मन्त्रालयले समन्वयकारी भूमिका निर्वाह गर्ने जिम्मेवारी पाए । नौ–नौ महिनामा सरकार र मन्त्री फेरिरहदा युवा र खेलकुदको विषयले त्यति महàव पाउन सकेको देखिदैन । हरेक राजनैतिक र सामाजिक आन्दोलनमा परिवर्तन वाहकका रूपमा अग्रमोर्चामा रही सफल पार्ने युवाहरूको सन्दर्भमा खासै उल्लेखनीय परिवर्तन हुन सकेको देखिदैन ।

विश्व युवा विकास सूचाङ्क २०१६मा नेपालको स्थिति ७७ औँ स्थानमा छ । विगतको द्वन्द्व, तराई आन्दोलन, राजनैतिक अस्थिरता, पटक–पटक हुने बन्द हडताल, छिटोछिटो सरकार परिवर्तन भईरहने, नाताबाद, कृपावाद, भ्रष्टाचार, सुरक्षा र न्यायमा राजनीतिकरण, विकास निर्माणका कार्य प्रभावकारी हुन नसक्नु, उद्योग कलकारखानाहरूलाई व्यवस्थित गर्न नसक्नु, गरीबी, गुणस्रीय र रोजगारमूलक शिक्षाको अभाव लामो समयसम्म जनप्रतिनिधि विहिन हुनुले नेपाली युवाहरू निराश हुँदै वैदेशिक रोजगारीको लागि खाडिमूलक तिर जानेहरूको संख्या बढेको देखिन्छ ।

प्रत्येक दिन १५०० का हाराहारीमा त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थानबाट खाडीतर्फ जाने गरेको पाइन्छ । प्रत्येक वर्ष नेपाली श्रम बजारमा आउने ७५ प्रतिशत युवा मासिक सरदर ३० हजार कमाउने गरी जोखिमयुक्त कामका लागि खाडी तथा मलेसिया तर्फ जाने गर्दछन् । २०७३÷०७४ को वैदेशिक रोजगार विभागको तथ्याङ्कलाई मात्र हेर्दा पनि नयाँ श्रम स्वीकृति लिएर जानेको सख्.या ३ लाख ७३ हजार छन् जसमा १८ हजार त महिला नै छन् ।

दक्ष जनशक्ति विकास र रोजगारी सिर्जनामा आसा गरेअनुसार बृद्धि गर्न नसक्नाले प्रत्येक वर्ष ठूलो संख्यामा युवाहरू मध्यम स्तरका जोखिमपूर्ण रोजगारीको लागि विदेशिने गरेका कुरा आर्थिक सर्वेक्षणले समेत औल्याएको छ । सोही सर्वेक्षण अनुसार प्रत्येक वर्ष ५ लाख १२ हजार नयाँ श्रमशक्ति तयार हुन्छन् ।

यसको ७५∞ संख्या खाडी र मलेसियाले धानेको अध्ययनले देखाउँछ । विधीप्रक्रिया पु¥याएर श्रम स्वीकृति लिएर गएका बाहेक भारतको बाटो हुँदै खाडी जाने र भारतमा नै काम गर्न जाने युवाहरूको सख्ंया एकिन नै छैन । अध्ययन गर्ने नाममा खाडी बाहेक अन्य मूलुकमा जाने, सके पढ्ने नत्र काम गरी नेपालमा रेमिटेन्स पठाउने युवाहरूको पनि प्रष्ट तथ्याङ्क बाहिर आउन सकेको देखिदैन ।

बाहिर जाँदा ठगिने, लुटिने, भने अनुसारको सेवा सुविधा नपाउने, सीपको अभाव, दुर्घटनामा पर्ने ज्यान गुमाउने, घाईते हुने, मानसिक पीडा भोग्ने, महिला माथि यौन हिंसा र दुव्र्यवहारको पीडा भोग्न बाध्य हुँदै मृतकको लास, ह्वील चियरमा घाइते आउनेहरूको संख्या पनि बढेको देखिन्छ । घर परिवारबाट विछोडिएको पीडाले श्रीमान्, श्रीमती विछोड हुने र बालबालिकाको विचल्ली भएका घटनाहरु पनि हाम्रो समाजमा प्रसस्त छन् ।

युवाहरूको सवालहरू थुप्रै छन् । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदबाट २०१५ डिसेम्बर ९ को सुरक्षा परिषदको ७५७३ औँ वैठकले  युवा, शान्ति र सुरक्षाका सम्बन्धमा संकल्प (२२५०) पारित गरेको छ । उक्त संकल्प प्रस्तावले युवाहरूको सहभागिता, संरक्षण, रोकथाम, साझेदारी, युद्ध र द्वन्द्व प्रभावको सन्दर्भमा असंलग्नता तथा पुन समायोजनको विषयलाई उठाएको छ । विश्वको वर्तमान युवा पुस्ता अहिलेसम्मकै वृहत्त हो ।

प्रायजसो सशस्त्र द्वन्द्वबाट प्रभावित मुलुकहरूको जनसंख्या सबैभन्दा ठूला हिस्सा युवा नै रहेका छन् । शिक्षा एवम् आर्थिक अवसरहरू माथिको युवाहरूको उच्चमा आउने अवरोधले दिगो शान्ति र मेलमिलाप माथि नाटकीय प्रभाव पार्दछ । स्थायी शान्ति निर्माण गर्न र न्याय तथा मेलमिलापका लागि योगदान दिनका लागि युवा सक्रिय रूपमा संलग्न हुन जरुरी छ । यसै गरी संकल्प प्रस्तावले समावेसी नीतिहरू कायम भएको खण्डमा ठुलो युवा जनसंख्याले स्थाई शान्ति र आर्थिक समृद्धिमा योगदान पु¥याउन सक्ने ठहर गरेको छ ।

यो संकल्प प्रस्ताव नेपालको सन्र्दभमा पनि सान्र्दभिक छ । यस सन्दर्भमा पनि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषदले कार्य योजना बनाई कार्यन्वयनको दिसामा अघि बढ्न जरुरी छ । किनकि १० वर्षे द्वन्द्व व्यहोरेको हाम्रो देशमा हिंसात्मक द्वन्द्वका घाउहरू मेटिसकेका छैनन् । मानव अधिकारका गम्भिर उल्लंघनका घटनाहरुबाट पीडितले अहिलेसम्म न्याय पाएका अवस्था छैन ।

सन् २०१७ को अन्तर्राष्ट्रिय युवा दिवसको नारा पनि शान्तिका लागि युवा” रहेको छ । शान्ति विना विकास सम्भव छैन । सन् २००० सालबाट मनाउन थालिएको अन्तर्राष्ट्रिय युवा दिवस नेपाल सन् २००५ देखि नियमित मनाउन थालिएको हो । दिवसका लागि दिवस मनाउने परम्पराको पनि करिब २० वर्ष पछि भएको स्थानीय तहको निर्वाचनमा सम्पन्न भएको छ । २०७४ को पहिलो र दोस्रो चरणको निर्वाचित पद संख्या २८४०९ मा युवाहरूको संख्या करिब १० हजारको हाराहारीमा रहेको आकडा छ । दोस्रो चरणको निर्वाचनमा ३ सय २९ स्थानीयतहमा २२ नगरप्रमुख, ४४ उपप्रमुख, ४९ गाउँपालिका प्रमुख, ९९ गाउँपालिका उपप्रमुख सहित ५९३८ युवा निर्वाचित भएको देखिन्छ । यो आकडाले अब नेतृत्व विस्तारै युवाहरूले गर्नुपर्छ भन्ने तर्फ आम नेपालीको ध्यान गएको बुझ्न सकिन्छ ।

यही समयमा नै निरन्तर निर्वाचन भईरहेको भए यी संख्याहरू बढ्न सक्थ्यो तर यो सकारात्मक सन्देश हो । स्थानीय तहमा युवाहरूको उपस्थिति देखिएको छ । राजनीतिक, सामाजिक, उद्यमशिल्ताको क्षेत्रमा क्रियाशील युवाहरू, राष्ट्रिय युवा परिषद, युवा तथा खेलकुद मन्त्रालयले युवाको क्षेत्रमा विभिन्न मन्त्रालयमा छरिरहेको बजेटलाई एकिकृत गर्दै, चौथो योजना, राष्ट्रिय युवा नीति, युथ भिजनलाई आधारमान्दै शान्ति, विकास र समृद्धिको लागि हातेमालो गर्दै सरोकारवालाहरूसँगको समन्वय सहकार्य, साझेदारीमा युवाहरूको शिक्षा, स्वास्थ्य, रोजगारको लागि स्थानीय तहदेखि केन्द्रसम्म एकताबद्ध ढङ्गबाट लाग्न सकेमा नेपाली युवाहरू विकासमा महत्वपूर्ण योगदान पु¥याउन सकिन्छ ।

युवाहरूको अर्थपूण सहभागिता साझेदारी र सहकार्यमा राज्यले भएका नीति र योजनालाई कार्यन्वयन र अपुग कुरालाई सुधार्दै जान सकेमा ४०.३४ प्रतिशत जनसंख्या ओगटेको युवा समृद्ध नेपाल निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । युवाहरू शिक्षा स्वास्थ्य र रोजगारको सवाललाई सम्बोधन गरी युवाहरुको अवस्थालाई सुधार ल्याउन अब राष्ट्रिय स्तरमा मात्र हैन, अधिकार प्राप्त स्थानीय तहबाट बालमैत्री, वातावरण मैत्री अभियान सँगसँगै युवामैत्री गाउँपालिका र नगरपालिका बनाउने अभियान चलाउने तथा स्थानीइ तहमा नै युवाहरुको स्वरोजगार हुने योजना र कार्यक्रम ल्याउन जरुरी छ ।

लेखकः– जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष हुनुहुन्छ ।

Comment Here!

सम्बन्धित