Latest

आन्दोलनको वेवास्ता गर्दै शिक्षकसेवा आयोगले परीक्षा केन्द्र तोक्यो ,परीक्षा हुन्छ कि हुँदैन ?

Public Date:-2017-08-07

काठमाडौं – शिक्षा ऐन संशोधन तथा शिक्षक परीक्षाको मिति सार्नका लागि गरिएको अस्थायी शिक्षकहरुको आन्दोलनलाई वेवास्ता गर्दै शिक्षक सेवा आयोगले भदौ ३ गते  हुने शिक्षक परीक्षाको परीक्षा केन्द्र तोकेको छ ।

अस्थायी शिक्षकहरुको तोकियो परीक्षा केन्द्र / परीक्षा भाद्र ३ गते

 

परीक्षा सार्नका लागि गरिएको अस्थायी शिक्षकको आन्दोलन र परीक्षा तोकिएकै मितिमा गर्ने शिक्षक सेवा अयोगको तयारीबीच अस्थायी शिक्षकहरुबीच परीक्षा हुन्छ कि हुँदैन भन्ने अन्योल थियो । तर, आयोगले परीक्षा केन्द्र नै तोकेपछि भने परीक्षा चाहेका शिक्षक खुसी भएका छन । त्यस्तै, आन्दोलनरत शिक्षकहरु भने थप आक्रोशित बनेको देखिन्छ ।

 
लामो समयदेखि आन्दोलनमा होमिएका अस्थायी शिक्षकहरु भने भदौ ३ गतेको परीक्षा जसरी पनि हुन नदिने दाउमा छन् । तर शिक्षक सेवा आयोगले सरकारसँग भएको सहमति विपरीत काम गरेको अस्थायी शिक्षकहरुको आरोप छ । अस्थायी शिक्षकहरु आयोगले विगतमा भएको सहमति विपरीत तथा जारी आन्दोलनलाई वेवास्ता गर्दै परीक्षा सञ्चालन गर्न खोजे आफूहरु भौतिक रुपमै भए पनि परीक्षा अवरोध गर्न बाध्य हुने चेतावनी दिइसकेका छन् ।

 
आयोगले परीक्षा केन्द्र निर्धारण गरेर जसरी परीक्षा गराउने पक्षमा देखिएको अस्थायी शिक्षक संघर्ष समितिका उपाध्यक्ष ज्योतीनारयाण ढकाल बताए । तर आफूहरुको आन्दोलनलाई वेवास्ता गर्दै आयोगले गरेको निर्णयले हजारौ अस्थायी शिक्षकहरु अन्यायमा परेको ढकालको भनाइ छ ।

 
अनसनरत दुई शिक्षक ललितपुरका विष्णुहरि दनुवार र पर्साका शिक्षक किसुनप्रसाद यावद पनि आयोगले भदौ ३ गते लिने परीक्षाका परीक्षार्थी हुन । उनीहरु आफै पनि मानसिक रुपमा परीक्षाका लागि तयार भएको देखिन्नन् । भने अरु अस्थायी शिक्षकहरु पनि आन्दोलनमा सहभागी भएकाले परीक्षा सरे हुन्थ्यो भन्ने मनसायमा छन् ।

 
अहिले मुलुक भर २६ हजारभन्दा बढी अस्थायी शिक्षक छन् । अस्थायी शिक्षकहरुले अहिलेकै प्रक्रियाबाट परीक्षा सञ्चालन हुने हो भने यसले अस्थायी शिक्षकहरुलाई अन्याय हुने ढकालको भनाइ छ । ढकालका अनुसार यस प्रक्रियाबाट अगाडि बढ्ने हो भने १० प्रतिशत पनि शिक्षकलाई पनि न्याय हुँदैन । यस्तो अवस्थामा ऐन संशोधन गर्दै परीक्षाको मिति सार्नुपर्ने उनको भनाइ छ ।

 
सरकाले गत असार ९ गते अस्थायी शिक्षकहरुसँग गरेको सम्झौतामा पनि सम्पूर्ण अस्थायी शिक्षकहरुलाई परीक्षामा सहभागी हुने सिर्जना गर्ने, तथा परीक्षामा सफल हुन नसक्ने शिक्षकहरुलाई शिक्षा ऐनको आठौं संशोधनले व्यवस्था अनुसारको सुविधाका अतिरिक्त औषधी उपचार खर्च समेतको व्यवस्था गर्न शिक्षा ऐनमा संशोधनको प्रक्रिया अगाडि बढाउने उल्लेख गरिएको छ ।

 
अस्थायी शिक्षकसँग भएको सहमतिमा २०६१ साउन २२ गतेदेखि २०७२ असोज २ सम्मका कुल रिक्त दरबन्दीको ४९ प्रतिशत आन्तरिक र ५१ प्रतिशत खुला विज्ञपान गर्ने सम्बनधमा आन्तरिक तर्फको विज्ञापनमा पद संख्या समायोजन (अनुपात मिलान) गर्नका लागि थप गृहकार्य गर्न शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र आन्दोलनरत शिक्षकका प्रतिनिधी रहने गरी ११ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको थियो ।

 
जस अनुसार कार्यदलको समयावधी १५ दिनको निर्धारण गरिएको थियो । कार्यदलले १५ दिनभित्रमा मुलुकभरमा रिक्त रहेकार दरबन्दीको तथ्यांक संकलन गर्ने र शिक्षक व्यवस्थापन गर्ने उल्लेख गरिएको थियो । सोही अनुसार शिक्षा विभागले समेत सम्पूर्ण जिल्ला शिक्षा कार्यालयमा पत्रचार गरी दरबन्दीको तथ्यांक पठाउन निर्देशन दिएको थियो । विभागको उक्त निर्देशन अनुसार केहीले मात्रै दरबन्दीको तथ्यांक प्रस्तुत गरे पनि सम्पूर्ण तथ्यांक उपलब्ध हुन सकेन ।

 
त्यस्तै, ऐन संशोधनको प्रक्रिया पनि सरकारले अगाडि बढाउन सकेन । भने परीक्षामा असफल हुने अस्थायी शिक्षकहरुलाई सेवा सुविधाका अतिरिक्त औषधी उपचार, गोल्डेनह्यान्ड सेकका लागि आवश्यक खर्च दिनका लागि अर्थमन्त्रालयले समेत अस्वीस्कार गरेपछि अस्थायी शिक्षकहरु दोस्रो चरणको अनसनमा गएका थिए ।

 
आज दोस्रो चरणको अनसनको ६ दिन पुगिसकेको छ । यसबीचमा केही राजनीतिक दलका प्रतिनिधीबाहेक अरुले चासो दिएको देखिन्न । शिक्षामन्त्रालयले आश्वासन दिए पनि वार्ता गर्ने र समस्या समाधान गर्नतर्फ कुनै चासो नदेखाएको अस्थायी शिक्षकहरुको आरोप छ । एकातिर अस्थायी शिक्षकहरु ऐन संशोधन र परीक्षाको मिति तत्कालका लागि सार्नका लागि आन्दोलन गरिरहने र अर्कोतर्फ तोकिएकै मितिमा परीक्षा सञ्चालनका लागि आयोगले प्रक्रिया अगाडि बढाउँदा थप अन्योल सिर्जना भएको देखिन्छ ।

– एजुकेसन न्युज नेपाल 

Comment Here!

सम्बन्धित