Latest

आन्दोलनरत अस्थायी शिक्षक पुनः आमरण अनसनको बाटो तर्फ

माग पूरा नभएसम्म आन्दोलन जारी रहने

Public Date:-2017-08-01

काठमाडौं/आन्दोलनरत अस्थायी शिक्षक संघर्ष समितिले बुधबारदेखि पुनः आमरण अनसन सुरु गर्ने भएको छ । राजधानीको भद्रकालीमा भोलि दिउँसो २ बजेदेखि अनसन बस्ने तयारी भएको समितिका महासचिव कुमोदलाल कर्णले जानकारी दिए । शिक्षा मन्त्रालयसँग भएको चार बुँदे सहमति कार्यान्वयन नभएको भन्दै आफूहरु पुनः अनसन बस्न बाध्य भएको कर्णले सुनाए ।


अनसनलाई समर्थन तथा सरकारलाई दबाब दिनका लागि देशभरबाट अस्थायी शिक्षकलाई राजधानी आउन आह्वान समेत गरिएको छ । आह्वानपछि अहिलेसम्म २५ सयभन्दा बढी शिक्षक आन्दोलनका लागि राजधानी आइसकेको समितिले जानकारी दिएको छ ।


अबको आन्दोलन निर्णायक बनाउनु पर्ने भन्दै अब सहमति कार्यान्वयन नहुँदासम्म आन्दोलन जारी रहने समेत कर्णले स्पस्ट पारे । उनले भने, “माग पूरा गराउनका लागि शिक्षक सेवा आयोग, शिक्षा मन्त्रालय र शिक्षक महासंघका केही व्यक्तिहरु लागेका छन” उनले भने, “अब हामी सहमति मात्रै गर्दैनौ, कार्यान्वयनको प्रक्रियामा नजाँदासम्म आन्दोलन जारी रहन्छ ।” हजारौ अस्थायी शिक्षकलाई न्याय दिलाउनका लागि यो अवसर भएकाले कुनै पनि हालतमा आफूहरु नझुक्ने उनको भनाइ थियो ।


“सरकारले चाहेमा २ दिनमा सहमति कार्यान्वयन गर्न सक्छ” महासचिवले भने, “सहमति कार्यान्वयनमा शिक्षामन्त्रालयका प्रवक्ता हरि लम्सालको अकर्मण्यता देखिन्छ ।” उनका अनुसार ऐन संशोधन भएर शिक्षक परीक्षाको मिति सार्ने प्रक्रिया अगाडि नबढाउँदासम्म आन्दोलन जारी रहन्छ ।


यस अगाडि असारमा एक साता लामो अनसनपछि माग सम्बोधन गर्ने विषयमा शिक्षामन्त्रालय र समितिबीच ४ बुँदे सहमति भएको थियो । जसमा अस्थायी शिक्षकहरुलाई औषधी उपचार खर्च तथा स्थायी सरह सेवा सुविधा उपलब्ध गराउने उल्लेख गरिएको थियो । त्यस्तै, मुलुकभर रिक्त दरबन्दीको तथ्यांक संकलन गरी अस्थायी शिक्षक व्यवस्थापन गर्ने उल्लेख गरिएको थियो ।


जसका लागि शिक्षामन्त्रालयका प्रवक्ता हरिलम्सालको संयोजकत्वमा ११ सदस्यीय कार्यदल समेत गठन भएको थियो । तर उक्त कार्यदलले प्रभावकारी रुपमा काम गर्न नसक्दा माग सम्बोधन हुन सकेको थिएन । त्यस्तै, औषधी उपचार खर्च तथा परीक्षामा अनुत्तीर्ण हुनेका लागि सेवा सुविधा दिने विषयमा अर्थ मन्त्रालयले अस्वीकार गरेपछि सहमति कार्यान्वयन हुन सकेको थिएन ।


त्यस्तै, शिक्षक सेवा आयोगले आगामी भदौ ३ गते लिने परीक्षामा सबै अस्थायी शिक्षकलाई नसमेटेको भन्दै परीक्षा सार्नका लागि आयोगमा ज्ञापनपत्र बुझाउँदा समेत आयोगले अटेर गरेको अस्थायी शिक्षकहरुको आरोप छ । यसका लागि आयोगसँगै शिक्षक महासंघ र शिक्षा मन्त्रालय जिम्मेवारी रहेको समितिको आरोप छ । समितिले अबको आन्दोलन शिक्षामन्त्रालय, शिक्षक सेवा आयोग र शिक्षक महासंघका विरुद्ध गर्ने घोषणा गरिसकेको छ ।
यता शिक्षक सेवा आयोगले कुनै पनि हालतमा परीक्षाको मिति परिवर्तन नहुने स्पस्ट पारिसकेको छ । आयोगले गत चैत १९ गते १९ हजार २६५ पदमा शिक्षक दरबन्दी विज्ञापन खुलाएको थियो । जसमा १५ हजार ६९१ जनाले आवेदन दिएका छन् । अहिले मुलुकभर २६ हजारभन्दा बढी अस्थायी शिक्षक छन् ।


आयोगले विज्ञापन खुलाउँदा कुल दरबन्दीमा ४९ र ५१ प्रतिशत गरी आन्तरिक र खुला प्रतिष्पर्धाका आधारमा शिक्षक परीक्षाको विज्ञापन आह्वान गरेको थियो । तर अस्थायी शिक्षक संघर्ष समितिले भने आन्तरिक प्रतिष्पर्धा कम्तीमा ७० प्रतिशत हुनुपर्ने माग राख्दै आएको छ ।

अहिलेको अवस्थामा जाँदा १० प्रतिशत शिक्षक पनि स्थायी नहुने भन्दै अहिलेकै प्रक्रियामा अगाडि बढ्दा अस्थायी शिक्षकलाई अन्याय हुने बताउँदै आएको छ ।


समितिले सबै अस्थायी शिक्षकले परीक्षामा भाग लिन पाउनु पर्ने, परीक्षामा ४० अंक ल्याउनेलाई स्वतः स्थायी गरिनुपर्ने, परीक्षामा अनुत्तीर्ण हुनेलाई सेवा सुविधा सहित बिदाइ गर्नुपर्ने, औषधी उपचारको सुविधा पनि आफूहरुले पाउनुपर्ने माग राखेका छन् ।

– साभार –एजुकेशन न्यूज

Comment Here!

सम्बन्धित