Latest

नेपालमा पर्यटन : उत्कृष्ट गन्तव्य तर चूनौतिपूर्ण पर्यटन व्यवसाय

Public Date:-2017-07-23

कमल नेपाल

नेपाल विश्वकै उत्कृष्ट गन्तव्य मध्येको एक हो । विश्वका ठूला मुलुकहरुको दाँजोमा क्षेत्रफलको हिसाबले नेपाल जति सानो छ विविधताहरुका हिसावले नेपाल त्यतिकै ठूलो पनि छ । जसको फलस्वरुप विश्वका पर्यटकहरूका लागि नेपाल उत्कृष्ट र रमणिय गन्तव्य बनेको छ ।

विश्वकै सर्बोच्च शिखर सगरमाथा देखी शान्तिका अग्रदुत भगवान गौतम बुद्ध जन्मिएको पवित्र भूमीको रुपमा आज नेपाल विश्वमा हाम्रो चिनारी बनेको छ

यति मात्र नभई सगरमाथा लगाएतका दर्जनौं गगन चुम्मी हिमालहरु, पहाडहरु, हुँदै तराईका फाँटहरुले पनि विश्वसामु हाम्रो भोगौलिक विविधताको परिचय दिइरहेका छन् । अनि हिमालका छातीमा पाइने अमृतरूपी जडिबुटी देखी तराईका फाँट सम्म छरिएर रहेका अनेकौं प्रकारका वनस्पतीहरुले पनि विवधतामा सहमती जनाएका छन् ।

अनि हिमाल देखी तराईसम्म बसोबास गर्ने नेपालीहरुको जात जातमा पनि आफ्नै किसिमको विविधता र यहाँ बोलिने १०० भन्दा बढि भाषाहरुमा पनि आफ्नै विशेषता र विविधता छ । साथै भेष भुषा, यहाँ मानिने धर्म संकृतिहरु, चाडपर्वहरुमा जति विविधता छन् त्यति नै वैज्ञानीक पनि छन् ।

यहाँको हावा पानी आफैँमा उत्कृष्ट र भुगोल अनुसारकोे विविधता रहेको हुँदा विश्वको जुन हावापानीले पनि पर्यटकहरुलाई सन्तुष्ट बनाएको छ । विदेशी नागरिकहरुको नजरमा नेपाल एक खुला पुस्तकालय हो जहाँको विविधताहरुबारे स्वयम अनुभव गरि केहि सिक्न सक्दछ ।

बुद्ध नेपालमा जन्मिए बुद्धत्वो प्राप्त गरे विश्वका शान्ति प्रेमीहरू यहि नेपालमा आएर ध्यान गर्न चाहान्छ यो बुद्धको प्रभाव हो ।

एक सर्वेका अनुसार बार्षिक १५ देखि २० लाख मानिसहरु नेपालमा ध्यान गर्नका लागि र करिब ३ करोड मानिसहरु यहाँको हिमाल लगाएतको प्राकृतिक सुन्दरता रमाउन चाहान्छ, पैदल यात्रीहरुको लागि विश्वकै उत्कृष्ट पैदलमार्ग पनि नेपालमै रहेको छ, विश्वमै दुर्लभ एकसिङ्गे गैडा देखी रातो पण्डा लगाएत अन्य धेरै जंगली जनावारहरुको बासस्थान पनि हो नेपाल ।

यदि यसको सहि व्यवस्थापन हुने हो भने हामीलाई हाम्रो विविधता नै देखाएर खान पुग्छ । तर दुःखका साथ भन्नुपर्छ हामीे सुनमा टेकेर फलाम खोजिरहेका छौं । कस्तुरी मृगको नाभीमा सुगन्ध हुन्छ तर त्यही कस्तुरी मृग हो जसले आफ्नै नाभीमा सुगन्ध बोकेर आफै सँग भएको सुगन्धको खोजिमा भौतारिन्छ ।

अन्त्यमा पानी पिएर त्यसको मृत्यु हुन्छ वास्तवमै हाम्रो अवस्था पनि कस्तुरी मृग जस्तै छ । आफु सँगै भएको चिजको पत्तो नपाउने अनि दुई छाक टार्न विदेशीको दास बन्नुपर्ने ।

अनेक समस्या भित्रका प्रश्नहरु केलाउदा हामी हरेक विषयको व्यवस्थापनमा चुकेका छौं । हामी असफल हुनुका पछाडी हाम्रो व्यवस्थापकीय कमजोरी विद्यमान छ । हामी सँग यति सम्भावना हुँदा हुँदै पनि यसको सहि व्यवस्थापन र परिचालन हुन नसक्दा नेपालमा पर्यटकिय क्षेत्रले उल्लेख्य सफलता हात पार्न सकेको छैन ।

वास्तवमै विश्वले चरम विकास हासिल गरिरहँदा मानिस भने प्रकृतिमैत्री बन्न खोजिरहेको छ । वर्तमान अवस्थामा नेपाल जस्तो प्राकृतिक सुन्दरताले भरिपूर्ण भएतापनि पर्याप्त रुपमा पर्यटनको लागि स्थान पाइरहेको छैन । अझ भनौं यतिखेर प्रकृतिक भन्दा कृतिम संरचनामै बढि पर्यटकको चहलपहल देखिन्छ ।

त्यसको उदारण खोज्न धेरै टाढा जानु पर्दैन नेपालको सिमाना पर्ने तिब्वत जुन क्षेत्रफलको हिसाबले नेपाल भन्दा धेरै सानो छ । अधिकांश बौद्ध धर्मावलम्बी बस्ने तिब्वतमा कृतिम पर्यटकीय संरचनाहरु प्रसस्त मात्रामा रहेका छन् ।

तिब्वतमा बार्षिक १ करोड ३० लाख भन्दा बढि पर्यटकहरुले भ्रमण गर्दछन् तर नेपालमा यति प्राकृतिक सुन्दरता सहितको सुन्दरता भएको स्थानमा तिव्वतमा आउने १० प्रतिशत पर्यटक आउँदैनन् । वार्षिक रुपमा हाम्रो जनसंख्या बराबरको पर्यटक आउनु पर्ने स्थान हो नेपाल । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा गरिएका अध्ययानहरुले पनि यहि भन्छ ।

दुःखद् कुरा त के छ भने हामीले आज सम्म सोचेका छैनौं नेपालमा किन पर्याप्त रुपमा पर्यटक आउँदैनन् भनेर । नेपाल सरकारले ग्रामीण पर्यटन विकासको लागि होमस्टे विकास अवधारणा अघि सारेको छ । तर संचालित होमस्टेहरुमा पर्याप्त मात्रामा पर्यटक हरु आउने गरेका छैनन् । पर्यटकले केवल चिप स्टेको रुपमा मात्र होमस्टेलाई प्रयोग गर्ने गरेका छन् ।

नेपालका हरेक घरहरुमा होमस्टे चलाउन सकिने सम्भावना भएतापनि होमस्टेलाई व्यावसायिककरण गर्नका लागि सरकारको नीति तथा लगानी शुन्य देखिन्छ । पर्यटनलाई नेपालको अर्थतन्त्र सँग जोडेर हेर्दा यसले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पु¥याएको देखिन्छ । तर पनि त्यसबाट प्राप्त आम्दानीको २० प्रतिशत पनि पर्यटन क्षेत्रको विकासमा लगानी गरेको देखिँदैन नेपालमा । आज सम्म जति पर्यटक आएका छन् त्यसमा ९० प्रतिशत योगदान निजी क्षेत्रकै छ ।

नेपाल वास्तवमै भू–स्वर्ग हो । यहाँ विश्वकै अदुभूत पर्यटकीय स्थानहरू छन् । तर गुपचुपरूपमा छन् । त्यसमा पनि धेरै जसो नेपालीहरुलाई नै थाहा छैन । यि स्थानहरुलाई विश्व सामु कसले चिनाउने ? नेपालमा केहि दशक अस्थिरतामा रहेतापनि शान्ति स्थापना पछीको अवस्था त्यति सुधार उन्मुख नदेखिनु सुखद कुरा होईन । हवाई सेवाको दृष्टिकोणले विश्वमै नेपाली आकाशलाई त्यति सुरक्षीत मानिँदैन ।

यातायात पर्यटन विकासको पहिलो आधार हो । त्यसमा पनि अहिले नेपालका धेरै दुर्गम स्थानहरुमा यातायातको पहुँच पुगेको छैन । त्यस स्थानमा विकल्पको रुपमा रहेका हवाई सेवा पनि जोखिमयुक्त रहेका छन् । नेपालको थोरै मात्रामा हिमाली क्षेत्रको यातायातको पहुँच हुनुमा र विकास हुनुमा पनि पर्यटन क्षेत्रकै योगदान तथा पहल रहेको छ ।

नेपालमा पटक पटक विदेशी लगानी आकर्षित गरी नेपाललाई आर्थिक विकास केन्द्रको रुपमा विकास गर्ने कुरा यहाँ धेरै चलाइयता पनि सार्थक प्रयास र पहल भएको देखिँदैन । सिमित बजेटको बाबजुत नेपालमा ट्रेकिङ्ग रुटहरू निमार्ण गर्ने कुरामा पनि फुट ट्रेल निमार्ण गर्ने या मोटरवाटो निमार्ण गर्ने कुरामा व्यवसायि र जनताहरुको मत बाझिएको देखिन्छ, तर दुवै उत्तिकै महत्वपुर्ण छन् ।


भौगोलिक वनावटका कारण नेपालमा एडभेञ्चर टुरीजमको सम्भावना पनि उत्तिकै रहेको छ र यस किसिमको सहासिक पर्यटन मार्फत नेपालमा थप पर्यटकहरु भि†याउन सकिन्छ । यसमा विषेश गरि प्याराग्याईडिङ, साइक्लिङ, रक क्याइमिङ्ग, बञ्जीजम्प जस्ता खेलहरु नेपालमा हुने गरेका छन् । तर यसको निरन्तरता र प्रवद्र्धनका लागि योजना बनाईको छैन, र यसलाई बनाउनु जरुरी भैसकेको छ ।


पर्यटन व्यवसायमा महत्वपुर्ण कुरा के छ भने पर्यटक जुन सुकै स्थानमा जाँदा पनि पैसा तिरेको हुन्छ । उ उसले तिरेको पैसा अनुरुपको सेवा सुविधा अपेक्षा गर्दछ । यदि हामीले लिएको रकम बरावरको सुविधा प्रदान गर्न नसकेको खण्डमा उ पुनः नेपाल आउने सम्भावना कम हुन्छ यसले पर्यटनमा दीर्घकालीन नकारात्मक असर उत्पन्न गर्छ फलस्वरुप व्यवसाय दिगो नहुन सक्छ ।


हरेक किसिमका पर्यटकहरुलाई व्यवस्थित गर्ने कार्य पनि आफैँमा चुनौतिपूर्ण छ । विलासी मन पराउने पर्यटकको लागि नेपालमा पर्याप्त संरचनाहरू पनि छैनन् । तर पर्वतारोहण, ट्रेकिङ्ग, हाईकिङ्ग, धार्मिक पर्यटन जस्ता कार्यका लागि नेपाल आउने पर्यटकहरुलाई सहजै व्यवस्थापन गर्न सकिने हुँदा त्यस्ता क्षेत्रहरुलाई पहिचान गर्दै पर्यटक आकषर्ण गर्ने कार्यमा सरोकारवाला पक्षको ध्यान जानु आवश्यक छ ।

नेपालमा पर्यटन व्यवसायिहरूको अपेक्षा त्यति महत्वकांक्षी छैन । जसलाई सरकारले चाहेको खण्डमा सहजै पुरा गर्दिन सक्छ । मुख्यतः समय सापेक्ष नीति, आवश्यक पुर्वाधारहरुको निमार्ण, भएका संरचनाहरुको संरक्षण र भएका नीतिहरु कडाईको साथ कार्यान्वयन हुने हो भने नेपालको पर्यटन व्यवसाय सफल हुन सक्छ ।


पछिल्ला दिनमा हामी भन्दा धेरै गरिब मुलुकहरुले पर्यटन विकासबाट फड्को मारेको समाचार पढ्दै गर्दा हामीले त्यसबाट पाठ सिकेर आवश्यक परिमार्जन गर्दै व्यवसायलाई निरन्तरता दिनुपर्ने देखिन्छ र यस सँग सम्बन्धित आवश्यक नीति निमार्ण गरि कडाईका साथ लागु गरी यस भित्र रहेका अनियमितालाई सुधार गर्दै जाने हो भने नेपालमा पर्यटनको भविष्य राम्रो देखिन्छ ।

Comment Here!

सम्बन्धित