Latest

त्रिविले कृषि अध्ययन अध्यापन सञ्चालन गर्ने

Public Date:-2017-07-18

चितवन – त्रिविले भरतपुरमा कृषि संकायमा अध्ययन अध्यापन शुरु गर्ने भएको छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय स्थापनासँगै रामपुरमा विवाद भएर कृषि भर्ना लिन नपाइएपछि त्रिविले कृषि विषय पढाउन पाएको थिएन । हालै मात्र सरकारले दुई विश्वविद्यालयलाई भौतिक सम्पत्ति बाँडफाँट गरी विवाद मिलाएको हो । विवाद मिलेसँगै त्रिविले भरतपुरमा रहेको आफ्नो आंगिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा कृषि स्नातक पढाउन शुरु गर्न लागेको हो । 

त्रिविका उपकुलपति तीर्थ खनियाँले सरकारले त्रिविलाई कृषि विषय पढाउन शक्तिखोरमा जग्गा दिने निर्णय गरेसँगै भौतिक संरचना नबनेसम्मका लागि वीरेन्द्र बहुमुखी क्याम्पसमा कृषि पढाउन त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेको बताउनुभयो । 

कृषि पढ्ने विद्यार्थीको मागलाई सम्बोधन गर्दै यही शैक्षिक सत्रदेखि कक्षा सञ्चालनका लागि आवश्यक निर्देशनसमेत भइसकेको उहाँले बताउनुभयो । 

त्रिवि, कृषि संकायका डिन केशव अधिकारीका अनुसार पढाइ सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार, पुस्तकालय, प्राध्यापक, प्रयोगशालालगायत काम अघि बढेको छ । रामपुरमा पढाइ नभए पनि प्राध्यापक र कर्मचारी रहेकाले तिनै प्राध्यापक र कर्मचारीमार्फत वीरेन्द्रमा कृषि पढाइ सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । 

रामपुरमा कृषि र पशुचिकित्सामा स्नातकदेखि विद्यावारिधिसम्म पढाइ हुँदै आए पनि हालका लागि वीरेन्द्र क्याम्पसमा भने कृषिमा स्नातकमा मात्रै पढाइ हुने छ । यसअघि रामपुरमा पढाइँदै आएको कृषि र पशु चिकित्सामा स्नातक पछिल्लो समय कपिलवस्तुको पक्लिहवा र लमजुङको सुन्दर बजारमा कृषि पढाइँदै आएको छ । 

स्नातकोत्तर र विद्यावारिधि भने कीर्तिपुरमा पढाइँदै आएको छ । त्रिविको सम्बन्धनमा निजी क्षेत्रमा बैतडी र इलाममा एक एक तथा दाङमा दुई कृषि क्याम्पस सञ्चालनमा छन् । भरतपुरमा ५० विद्यार्थीलाई कृषिमा भर्ना लिने तयारी रहेको उहाँले बताउनुभयो । रासस

Comment Here!

सम्बन्धित