Latest

यस्तो छ रेडियोको ईतिहास

Public Date:-2017-06-28

२४ सेप्टेम्बर, १९०६ को साँझमा क्यानडाका वैज्ञानिक रेगिनाल्ड फेसेडेनले जब आफ्नो भ्वाइलिन बजाए र अन्टान्टिका महासागरमा तैरिरहेका सम्पूर्ण जहाजको रेडियो अपरेटरहरुले त्यस संगीतलाई आफ्नो रेडियो सेटमा सुने, त्यो दुनियामा रेडियो प्रसारणको सुरुवात थियो ।
त्योभन्दा पहिला मार्कोनीले १९०० मा इंग्ल्याण्डबाट अमेरिकामा बिनातार सन्देश पठाएर व्यक्तिगत रेडियो सन्देश पठाउन सुरु गरेका थिए । तर एकभन्दा बढि मानिसहरुमा एकैसाथ सन्देश पठाउने सुरुवात भने १९०६ मा फेसेडेनबाट नै भएको थियो । त्यसपछि ली द फोरेस्ट र चाल्र्स हेराल्ड जस्ता व्यक्तिहरुले रेडियो प्रसारणको प्रयोग गर्न सुरु गरे । तबसम्म रेडियोको प्रयोग नौसेनासम्म मात्र सिमित थियो । १९१७ मा प्रथम विश्वयुद्धको सुरुवात पछि सेनाहरुको लागि रेडियोको प्रयोगमा निषेध लगाइयो । १९१८ मा ली द फोरेस्टले न्यूयोर्कको हाईब्रिज इलाकामा दुनिँया कै पहिलो रेडियो स्टेशनको स्थापना गरे । तर केहि दिनपछि नै पुलिसले खबर पायो र रेडियो स्टेशन बन्द गरियो ।
त्यसको एक साल पश्चात ली द फोरेस्टले पुनः सन फ्रेन्सिस्कोमा अर्को रेडियो स्टेशन स्थापना गरे । नोभेम्बर १९२० मा नौसेनाको रेडिया विभागमा काम गरिसकेका फ्रेंक कानार्डलाई दुनिँयामा पहिलो पटक कानुनी रुपमा रेडियो स्टेशन शुरु गर्ने अनुमति प्राप्त भयो । केहि सालमा नै दुनिँयामा हेर्दा हेर्दै सयौं रेडियो स्टेशनले काम गर्न सुरु गरे । रेडियोमा विज्ञापनको सुरुवात १९२३ मा भएको हो । त्यस पश्चात ब्रिटेनमा बीबीसी र अमेरिकामा सीबीएस र एनबीसी जस्तो सरकारी रेडियो स्टेशनहरुको स्थापना भयो ।
नेपालमा रेडियो प्रसारणको सुरुवात वि.सं २००७ को क्रान्तिका कालमा नारदमुनी थुलुङको नेतृत्वमा पूर्वी नेपालको पहाडबाट प्रजातन्त्र रेडियोको नाममा रेडियो प्रशारण भएको थियो । त्यसपछि विराटनगरमा अर्को रेडियो सञ्चालनमा ल्याइयो । तारिणीप्रसाद कोइरालाको नेतृत्वमा उक्त रेडियोले राणा विरोधी क्रान्तिलाई मुख्य रुपमा प्रचार गरेको थियो । प्रजातन्त्रको स्थापना पश्चात २००७ चैतमा सोहि उपकरण काठमाडौं ल्याई नेपाल रेडियोको स्थापना गरिएको थियो । हाल उक्त रेडियो सरकारी सञ्चार माध्यम रेडियो नेपालको रुपमा सञ्चालित छ । रेडियो नेपालले सुरुमा सर्ट वेभमा प्रशारण सुरु गरेको थियो भने हाल मिडियम वेभ र फ्रिक्वेन्सी मोडुलेशन (एफ.एम) बाट प्रशारण गर्ने गर्दछ । नेपाल रेडियोसँगै नेपालमा रेडियोको बिस्तार हुँदै गयो ।

Comment Here!

सम्बन्धित