Latest

रासायनिक मलको सहज आपुर्ती नभए काभ्रेली किसानहरु आन्दोलनमा उत्रने

Public Date:-2017-06-09

 

बनेपा – रासायनिक मलको अभावको विषयमा अखिल नेपाल किसान महासंघ काभ्रेले एकहप्ता भित्र मल सहज गराउने अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएको छ ।

रसायनिक मल कृषिको मुख्य सिजनहरुमा अभाव हुने, सरकारले अनुदानमा दिएको मल किसानले व्यपारीबाट चर्को मुल्यमा किन्नुपर्ने तथा किसानलाई मल पु¥याउने जिम्मा लिएका केही सहकारीहरुबाटै किसान ठगिनुपर्ने जस्ता विकृतिहरु हरेक वर्ष बढीरहेको भन्दै महासंघले ज्ञापनपत्र बुझाएको हो ।

अखिल नेपाल किसान महासंघ काभ्रेले कृषि सामाग्री कम्पनी लिमिटेड, शाखा कार्यालय धुलिखेल मार्फत् कृषि सामाग्री कम्पनी लिमिटेड तथा जिल्ला आपुर्ती तथा व्यवस्थापन समिति काभ्रेलाई बुझाएको ज्ञापनपत्रमा निम्नानुसारका मागहरु समावेश गरीएका छन् :


(१) किसानहरुले माग गरे बमोजिमको रसायनिक मल तत्काल प्राप्त गर्ने वातावरण बनाइयोस् ।


(२) ढुवानी खर्चको नाममा सरकारले तोकेको मुल्यभन्दा बढी रकम लिन तत्काल बन्द गरीयोस् साथै ढुवानी खर्चको नाममा रकम असुलीमा संलग्नलाई कार्बाही गरीयोस् ।


(३) कृषि सामग्री केन्द्रले प्रयाप्त रसायनिक मल ढुवानी गर्न नसकेको अवस्थामा सहकारी मार्फत् सिधै विरगजंबाट रसायनिक मल ल्याउने ब्यवस्था मिलाइयोस् ।


(४) कृषि सामाग्री केन्द्र काभ्रेले पक्षपात पुर्ण रुपमा रसायनिक मल बितरण गरेको भनेर ब्यापक जनगुनासो आइरहेको सन्दर्भमा सबै किसानहरुमा पुग्ने गरी वैज्ञानिक रुपमा रसायनिक मलको बितरण गरीयोस् ।


(५) सरकारी अनुदानको मल बजारमा खुलेआम ब्यापारीबाट बिक्रि भईरहेको सन्दर्भमा तत्काल बजारको अनुगमन गरी बिक्रि गर्ने ब्यापारी तथा अनुमती दिने सहकारीलाई तत्काल कार्वाही गरीयोस् ।


अखिल नेपाल किसान महासंघ काभ्रेका अध्यक्ष बिदुर हुमागाईको नेतृत्वमा गएको काभ्रेली किसानहरुको प्रतिनिधि मण्डलले कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय, धुलिखेलका प्रमुखलाई ज्ञापनपत्र बुझाएको हो । युवा किसान संघ काभ्रेका अध्यक्ष निर्मल त्रिपाठीले विगतमा पनि यस्तै गरी रसायनिक मलको अभाव हुदाँ जिल्लाका पाँचखाल लगायतका स्थानमा किसान महासंघको नेतृत्वमा किसानहरुले आन्दोलन गरेपछी सरकारले वाध्य भएर मलमा अनुदानको व्यवस्था र सहज आपुर्ती गरेकोे स्मरण गराँउदै संगठनले उठाएका मागहरु एक हप्ताभित्र पुरा नभए आन्दोलनमा उत्रने चेतवानी दिए ।

 

Comment Here!

सम्बन्धित