Latest

किसानलाई लुट्दै कृषि सामग्री कम्पनी

कार्यालय हाताभित्रै मूल्य भन्दा प्रति बोरा १५ रुपियाँ बढी असुली

Public Date:-2017-06-05

कविराज ढकाल

काभ्रे— किसानका लागि आवश्यक रासायनीक मल उपलब्ध गराउँदै आएको कृषि सामग्री कम्पनीले नै किसान लुट्न थालेको छ ।
बाली लगाउने मुख्य सिजनमा रासायनीक मलको कृतिम अभाव सृजना गरी सरकारी मूल्यमा १५ रुपियाँ बढी असुली गरिएको छ । सरकारी स्वामित्वमा रहेको रासायनीक मल विक्रेता कृषि सामग्री कम्पनी लिमिटेड धुलिखेलले नै किसानलाई यसरी ठग्न थालेको हो ।

कम्पनीले मल विक्री हुँदै आएको डिलर मूल्य युरिया मलमा प्रतिबोरा ८ सय ३४ रुपियाँ ५० पैसा भएपनि कम्पनीको बिल भन्दा बाहेक कम्पनीको हाताभित्र थप प्रतिबोरा १५ रुपियाँ बढी असुली गरेको मल विक्रेता डिलरहरूले गुनासो गरेका छन् । काभ्रेको धुलिखेलमा रहेर काभ्रे सहित चार जिल्लामा मल विक्री गर्दै आएको कृषि सामग्री कम्पनीले कृषकहरूलाई मार पार्ने ढंगको कार्यको लागि सहकारीका प्रतिनिधिलाई साथ लिएर आन्तरिक लुट मच्याएका छन् ।

हाल विरगञ्जदेखि काभ्रेसम्मको २१ टन (४२०) बोराको ढुवानी ३५ देखी बढिमा ४० हजार पर्छ । तर ठेकेदारले त्यो भन्दा कममा ठेक्का हालेका छन् ।लोड र अनलोड गरी प्रतिबोरा १२ रुपियाँ रहेको छ । डिलर मूल्य विरगञ्जमा भन्दा धुलिखेलमा प्रतिबोरा १ सय ३४ रुपियाँ ५० पैसा बढी कायम गरिएको छ । यो कायम गरिएको मूल्य नै खुद्रा ढुवानी भाडा र लोड अनलोड खर्च कटाएर बढी हुन आउँछ । तर पनि कृषि सामग्री कम्पनी लि. धुलिखेलले सहकारीका प्रतिनिधिका नाममा प्रतिबोरा १५ रुपियाँ बढी त्यो पनि बिल नकाटी उठाउँदै आएको छ ।

कृषि सामग्री कम्पनीको क्षेत्रीय डिपो विरगञ्जमा युरिया ७ सय र डिएपी २ हजार १ सय ५० डिलर मूल्य रहेको छ । विरगञ्जबाट काभ्रेको ढुवानी मूल्य प्रतिबोरा १ सय ३४ रुपियाँ ५० पैसा कायम गरी युरिया प्रतिबोरा ८ सय ३४ रुपियाँ ५० पैसा र डिएपी प्रतिबोरा २ हजार दुई सय ८३ रुपियाँ ५० पैसा मा डिलरलाई उपलब्ध गराउँदै आएकोमा हाल आएर अभाव देखाउँदै सहकारीका प्रतिनिधिमार्फत थप १५ रुपियाँ असुली गरिएको हो ।

सो सम्बन्धमा कम्पनीका लेखा अधिकृत वासुदेव शर्मासँग सम्पर्क गर्दा सहकारीका प्रतिनिधि प्रेमकाजी पोतेसँग बुझ्न सुझाव दिए । सहकारीका प्रतिनिधि प्रेमकाजी पोतेको अगुवाईमा कार्यालय हातामा रहेर उक्त असुली कार्य सञ्चालन भएको छ । प्रतिनिधि पोतेसँग फोन सम्पर्क गरी सो विषयमा जानकारी लिँदा ढुवानी भाडा बढेका कारण मल ढुवानीको ठेक्का पाएका ठेकेदारले ढुवानी भाडामा थप गर्न भनेपछि प्रमुख जिल्ला अधिकारी शिव सिंखडालाई मौखिक जानकारी गराई प्रतिबोरा १५ रुपियाँका दरले थप असुली गरेको बताए । तर यस विषयलाई लिएर कृषि सामग्री कम्पनीको काडमाडौंमा कार्यरत एक कर्मचारीले भने यसरी बढी लिन नमिल्ने बताए । उनले ढुवानीको वार्षिक ठेक्का दिने गरेकाले ठेक्का पर्ने कम्पनीले एक वर्षसम्म सम्झौताको सर्त अनुसार बढी लिन नपाउने र तोकिएको अवधिसम्म ढुवानी गरिदिनुपर्ने बताए ।
विरगञ्जमा पछिल्लो समय भाडा बृद्धि हुँदा (प्रति दश टन) १९ हजारबाट २४ हजार सम्म भाडा रहेको विरगञ्ज स्थित ढुवानी सेवा समिति स्रोतले बताएको छ । तर कम्पनीको दर रेटको आधारमा कम्पनीले विरगञ्ज र काभ्रेको मलको मूल्यमा भाडा वापत २६ हजार ६ सय थप गरी मूल्य कायम गरेको छ । हालकै भाडाको अवस्थालाई मध्येनजर गर्दा प्रति १० टन २ हजार ६ सय बचत हुन आउँछ । बचत मध्ये लोडिङ र अनलोडिङ समेत २ हजार ४ सय समेत जोड्दा पनि दुई सय बचत हुन आउँदा पनि सम्बन्धित निकायको मौखिक आन्तरिक सहमतीका आधारमा लुट मच्याएका छन् ।

सम्बन्धित निकायले नै मनोपोली ढंगबाट कृतिम अभावका नाममा रकम थप असुली गर्न थालेपछि मल विक्रेता डिलरहरूले पनि लुट मच्याइरहेको अवस्था छ । जसका कारण कृषकहरू मर्कामा परिरहेका छन् । काभ्रेको पनौतीमा विक्रेताले युरिया मल प्रतिबोरा ९ सय ८० रुपियाँ लिने गरेका राजेन्द्र दाहालले बताए । उनका अनुसार धुलिखेलबाट पनौती सम्मको ढुवानी प्रतिबोरा २० रुपियाँ र लोड अनलोड १२ गरी र परल ८ सय ३४ रुपियाँ ५० पैसा गरी ८ सय ६६ रुपियाँ ५० पैसा पर्छ । विक्रेताले प्रतिबोरा १ सय १३ रुपियाँ ५० पैसाका दरले नाफा राख्ने गरेका छन् ।

माघ महिनाको लागि आवश्यक पर्ने ३५ हजार मेट्रिक टन (७ लाख बोरा) रासायनिक मल आयातको लागि ग्लोबल टेण्डर मार्फत जिम्मेवारी पाउने पक्षले आयातमा आलटाल गर्दै आयात नगरी बस्दा मलमा केहि अभाव देखिएको हो । सामान्य ढंगबाट निरन्तर रुपमा मल बितरण गर्दै जाने र कालाबारीया साथै कृषि सामग्री कम्पनिका केन्द्रिय, क्षेत्रिय स्तरका उच्च ओहदामा रहनेहरुको मिलिमतो र चलखेलमा कृतिम अभाव गराएर रातारात कालो धन कुम्ल्याउने योजना नबनाउने हो भने कुनै समस्या नहुने नाम उल्लेख नगर्ने सर्तमा कृषि सामाग्री कंम्पनि केन्द्रिय कार्यालयका एक कर्मचारीले बताएका छन् । उनका अनुसार सम्बन्धित निकायले निस्पक्षका साथ अनुगमन गर्ने र कारवाही प्रकृया अगाडि बढाउने हो भने समस्या समाधान जादु गरेसरह तत्काल हुन्छ ।

Comment Here!

सम्बन्धित