Latest

नमोबुद्ध नेपालकै नमुना नगरपालिका बन्न सक्छ

Public Date:-2017-05-11

टिपी शर्मा तिमल्सिना प्रमुख पदका उम्मेदवार, नेकपा एमाले

काभ्रेको नमोबुद्ध नगरपालिकाको प्रमुख पदका उम्मेदवार रहेका टिपी शर्मा तिमल्सिना त्यस भेगका सर्वमान्य नेताका रूपमा परिचित छन् । सुख दुःखमा कसैले सम्झे भने सदैव हाजिर हुने उनि दाप्चा काशीखण्ड नगरपालिका बनेदेखि नै नगरलाई विकसत र समृद्ध बनाउन सक्रिय छन् । केही समय अघि भकुण्डे बजारलाई सिसि क्यामेरामा कैद गर्न सफल तिमल्सिना नमोबुद्धको कृषि, खानेपानी, सिंचाई, पर्यटन लगायतका क्षेत्रमा उल्लेख्य विकास गर्ने लक्ष्यका साथ स्थानीय निर्वाचनमा नगर प्रमुखको उम्मेदवारका रूपमा प्रचारमा छन् । शालिन व्यक्ति सबैलाई समेट्न सक्ने क्षमता भएका तिमल्सिनासँग स्थानीय निर्वाचनका सन्दर्भमा गरिएको कुराकानीको सम्पादित अंश :


— स्थानीय निर्वाचनमा जनतासामु कस्तो नारा लिएर जानुभएको छ ?

मैले प्राय सबै तयारी सकेको छु । जनताको घर दैलोमा जाने देखि अन्य तयारीहरू भएका छन् । हामी स्थानीय निर्वाचनमा जनतासामु जनताका हक हितका कुरा लिएर गएका छौं । विकास निर्माणका कुरो लिएर गएका छौं । हामीले नमोबुद्धलाई चौतर्फी विकास गर्ने योजना लिएर जनता सामु गएका छौं ।

— के—के योजनालाई अघि सार्नु भएको छ ?

हामीले नगरमा सबै कुराको सेवा सुविधा हुने खालका योजनालाई अघि सारेका छौं । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, लगायतका कुरा अघि सारेका छौं । यसलाई हामीले यसरी बुँदागत हामीले यि कामहरूलाई लिएका छौं ।
— प्राविधिक विद्यालयको स्थापना
— अन्तर्राष्ट्रिय स्तरको बौद्ध विद्यालयको स्थापना
— एक सय शैयाको सामुदायिक अस्पताल
— नगरका सबै नागरिकहरूलाई सर्वसुलभ खानेपानी र सरसफाई
सुविधाको ग्यारेन्टी गरी पाँच वर्षभित्र एक घर एक धारा जडान
— कृषि एवं पर्यटकीय सामुदायिक एफएम रेडियोको स्थापना
— सबै वडाका केन्द्रसम्म कालोपत्रे सडकको सञ्जाल
— कृषि उत्पादन बृद्धिका लागि सिंचाईको व्यवस्था
— प्रत्येक वडामा खेलमैदान, नगरको केन्द्रमा रङ्गशाला
— प्रत्येक वडामा पुस्तकालय सहितको सूचनाकेन्द्रको स्थापना
— एकीकृत बस्ती स्थापना, ग्रामिण पर्यटन प्रबद्र्धन
— व्यवस्थित सहरीकरणका लागि पूर्वाधार विकास
— पहिलो बालमैत्री तथा बालश्रम मुक्त नगर
यसलाई हामीले शिक्षा, स्वास्थ्य, खानेपानी, सूचनाप्रविधि, सडक, उद्योग, पर्यटन, खेलकुद, पुर्ननिर्माण, सामाजिक विकास लगायतमा वर्गिकरण गरेका छौं । यसलाई हामीले विस्तृत रूपमा यसरी व्याख्या गरेका छौं ।


शिक्षा
— नगर भित्र रहेका सम्पूर्ण विद्यालयहरूमा सुविधासम्पन्न पूर्वाधार सहित निःशुल्क एवं अनिवार्य अंग्रेजी माध्यमको शिक्षाको व्यवस्था गरिने छ ।
— शिक्षामा सूचना प्रविधिको प्रयोग गरी प्रत्येक विद्यालयमा कम्प्युटर सहित स्मार्ट बोर्डको प्रयोग गरी श्रव्य दृष्य माध्यमबाट पठन पाठन गर्ने व्यवस्था गरिने छ ।
— नगरभित्र एउटा प्राविधिक विद्यालयको स्थापना गरिनेछ ।
— नमोबुद्धमा अन्तर्राष्ट्रिय स्तरको बौद्ध विद्यालयको स्थापना गरिने छ ।

स्वास्थ्य
— नगरमा कम्तिमा एक सय शैयाको सामुदायिक अस्पतालको स्थापना गरी प्रत्येक रोगका विशेषज्ञ डाक्टर सहितको दरवन्दीको व्यवस्था गरिनेछ ।
— स्वास्थ्य विमालाई सर्वशुलभ एवं अनिवार्य गरी स्वास्थ्य उपचारमा राज्यको उत्तरदायित्व वहन गरिनेछ । अर्थात स्वास्थ्य सुरक्षालाई निःशुल्क एवं सर्वशुलभ गरिनेछ ।
— प्रत्येक वडामा एउटा डाक्टरको दरवन्दी सहितको स्वास्थ्य केन्द्रको स्थापना गरिने छ । र भौगोलिक विकटताका आधारमा टोलहरूमा समेत स्वास्थ्य उपकेन्द्रको स्थापना गरि नगरको मुख्य अस्पतालसँग अडियो भिडियोद्वारा टेली मेडिसिनको उपयोग गरी उपचार गरिनेछ ।

खानेपानी
— रोशी, सुनकोशी नदिबाट लिफ्टिङगरी तथा भूमिगत र मुहानको व्यवस्थापन गरी पाँच वर्षभित्र एक घर एक खानेपानीको धारा वितरण गरिने छ ।
— आन्तरिक ऐतिहासिक कुवा, पँधेरा, धाराहरूको जगेर्नाका लागि उल्लेखनिय बजेटको व्यवस्था गरिनेछ ।

सूचना प्रविधि
— प्रत्येक टोल बस्तीमा इन्टरनेटको व्यवस्था गरिनेछ ।
— नगरका ११ वटै वडा कार्यालयहरूलाई इन्टरनेटको माध्यमबाट नगरपालिकाको कार्यालयसँग नेटवर्किङ गराई नगरपालिकाको कार्यालयबाट हुने सेवा सुविधा डिजिटल सिग्नेचर मार्फत वडा कार्यालयबाट नै उपलब्ध गराईने छ ।
— भकुण्डेवेशीमा एमालेकै पहलमा सिसि क्यामेरा जडान गरिसकिएको छ । नमोबुद्ध र दाप्चा बजारमा समेत केही वर्षभित्र सिसिक्यामेरा जडान गरी नमोबुद्ध नगरलाई इ–नगरको रूपमा विकास गर्दै ग्लोवल भिलेजका रूपमा चिनाइनेछ ।
— नगरभित्र कम्तिमा एउटा कृषि एवं पर्यटकीय सामुदायिक एफएम रेडियोको स्थापना गरिनेछ ।
— नगरका विभिन्न स्थानमा पुस्तकालय सहितको सामुदायिक सूचनाकेन्द्रको स्थापना गरिनेछ ।

सडक
— प्रत्येक वडाका प्रत्येक टोलबस्तीलाई नगरस्तरिय मोटरबाटो सञ्जालमा जोडिनेछ ।
— नमोबुद्ध, भालुखर्क, बसेरी, गहते, पिपलटार, खाक्सी, चरङ्गेफेदी, लाशकोट, कानपुर बोहोरे, भिडाबारी, चरुवा, बुच्चाकोट, फुलबारी हुँदै नमोबुद्धसम्म नगरस्तरिय रिङरोड स्थापना गरिनेछ र नगर यातायात सञ्चालन गरिनेछ ।
— पनौती, नमोबुद्ध भकुण्डे सम्मको सडकको स्तरोन्नती गरी राजधानीसँग जोड्ने वैकल्पिक फास्ट ट्रयाकको रूपमा विकास गरिनेछ ।
— प्रत्येक वडाको केन्द्रसम्म पाँच वर्षभित्र कालोपत्रे सडक पु¥याईने छ ।
— चरुवा, भिडाबारी हुँदै बी.पी राजमार्ग र अरनिको राजमार्ग (पाँचखाल) मा जोडदै देशको उत्तर दक्षीणका लागि वैकल्पिक मार्गका रूपमा यसलाई विकास गरिनेछ ।
— झिगुखोलामा पक्की पुलको निर्माण गरिनेछ ।
— नैविसे देखी बुच्चाकोटसम्म वैकल्पिक वाइपास सडकको निर्माण गरिनेछ ।

कृषि
— नगरका समसितोष्ण (चिसो) क्षेत्रमा सुन्तला जुनार, तोरी, सस्र्युं लगायतका नगदे वालीहरूको प्रबद्धर्न गरी यस क्षेत्रलाई नगदेवाली पकेट क्षेत्र घोषणा गरिने छ भने उष्ण
(गर्मी) क्षेत्रमा आँप, कटहर, लिच्ची, अनार, मेवा जस्ता फलफुलहरूको व्यवसायिक खेती सुरु गर्न प्रोत्साहन गरी विषेश फलफुल पकेट क्षेत्र घोषणा गरिनेछ ।
— सिंचाईका लागि सम्भाव्यता अनुसार प्लास्टिक पोखरी, स्थायी पोखरी, डिप बोरिङ र लिफ्टिङ निर्माण गरी सिंचाइको व्यवस्था गरिनेछ ।
— कृषिमा सूचना प्रविधिको माध्यमबाट विचौलियाहरूको अन्त्य गरी कृषकहरूलाई लावान्वित बनाइने छ । जसका लागि विभिन्न स्थानमा सहकारी मार्फत कृषि सेवा केन्द्र स्थापना गरिने छ ।
— दुग्ध उत्पादन प्रशोधन केन्द्रको स्थापना गरिनेछ ।
— सामुहिक कृषि प्रणाली लागु गर्न सहजिकरण गरिनेछ ।
— नगरमा रहेका सामुदायिक वनहरूमा विभिन्न फलफुलका विरुवाहरू रोपी कृषि वनका रूपमा विकास गरिनेछ ।

पर्यटन
— धार्मिक पर्यटकीय एवं ऐतिहासिक तपोभूमि नमोबुद्धलाई विश्वमा चिनिनेगरी पर्यटकीय स्थलको रूपमा विकास गरिने छ । जसका लागि नमोबुद्धदेखि तुमशुङ कुण्ड
(कोटतिमाल) सम्म बौद्ध करिडोर स्थापना गरिने छ र धार्मिक पदमार्गको स्थापना गरिने छ ।
— नमोबुद्ध लगायत पर्यटकीय क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका पर्यटन पूर्वाधार निर्माणका लागि सहजिकरण गरिने छ ।
— दाप्चाको पुरानो बजारलाई पुर्ननिर्माण एवं प्रबद्धर्न गरी होम स्टेका रूपमा विकास गर्दै आन्तरिक एवं वाह्य पर्यटकलाई आकर्षण गरिनुका साथै अन्य एैतिहासिक स्वदेसी एवं विदेसी सहरहरूसँग भगिनि सम्बन्ध स्थापना गरिने छ ।
— वडा नं. ९ अन्र्तगत पर्ने नेपानेमा विश्वकै ठूला मध्येमा पर्ने बुद्धको मूर्ति स्थापना गरिनेछ ।
— नमोबुद्धबाट कुरगाउँ सम्म पर्यटकीय सिँढी मार्ग स्थापना गर्दै कुरगाउँ थुम्कामा गुरु रेम्पोछेको मूर्ति स्थापना गर्ने ।
— नमोबुद्ध, कोटतिमाल बौद्ध करिडोर पदमार्गमा गुम्बा, स्तुपा, माने, घ्याङ, थाङ्का लगायत विभिन्न कलात्मक चित्रहरूले भरीभराउ गरी जोडिनेछ ।

उद्योग
— विभिन्न वडाअन्र्तगत सार्वजनिक एवं सामुदायिक समथर एवं वस्ती नभएका ठाउँहरूमा औद्योगिक क्षेत्र घोषणा गरी उद्योग कलकारखानामा लगानी गर्न चाहने लगानीकर्ताहरूलाई सहज वातावरण सिर्जना गर्न कम्तिमा पाँच वर्षका लागि शुन्य करको नीति अवलम्बन गरी ठूला उद्योगीहरूलाई भित्राउने एवं एक टोल एक लघु उद्यमको अवधारणा अन्र्तगत लघु उद्यममा विशेष अनुदानको व्यवस्था गर्ने र कम्तिमा एक घर एक रोजगारीको ग्यारेन्टी गरिनेछ ।
— दलित तथा सिमान्तकृत वर्गहरूको पेशालाई परम्परात गुजारामुखी बाट आधुनिक व्यवसायीकरणमा लैजानका लागि उक्त समुदायको माग अनुसार कम्तिमा पाँच स्थानमा गार्मेन्ट लगायतका उद्योगको स्थापना गर्ने ।
— हस्तकला (थाङ्का, डोको, डालो, मान्द्रो, खुकुरी, करुवालगायत) निर्माणका लागि विशेष तालिमकेन्द्रको स्थापना गरीनेछ ।

खेलकुद
— प्रत्येक वडामा एउटा खेलमैदानको स्थापना गरिने छ र नगरमा नगर स्तरिय कबर्ड हल तथा रंङ्गशाला स्थापना गरिनेछ ।
— वडा स्तरिय बाल क्लब÷सञ्जाल, युवा क्लब÷सञ्जाल, स्थापना गरी यस्ता क्लब तथा समूहहरूलाई नगरको वार्षिक बजेटको कम्तिमा १० प्रतिशत रकम विनियोजन गरिनेछ ।
पुर्ननिर्माण
— नगरभित्रका प्रत्येक वडामा नेपाल सरकार पुर्ननिर्माण प्राधिकरण, राष्ट्रिय÷अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरू, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आवास कम्पनीहरू एवं दातृ संस्थासँग समन्वय गरी कम्तीमा एउटा वडामा एउटा एकीकृत नमुना बस्ती निर्माण गरिनेछ ।
— पुर्ननिर्माण कार्य छिटो छरितो र चुस्त दुरुष्त गराउनका लागि नगरपालिकामा छुट्टै पुर्ननिर्माण समितिको गठन गरी वडावासीहरूले निर्माणकार्यमा भोग्नुपरेको झन्झटको अन्त्य गरिनेछ ।
— पुर्ननिर्माणका लागि निःशुल्क नक्सा पास तथा इन्जिनियरिङ्ग एवं प्राविधिक सहयोग गरिनेछ ।
— प्रत्येक घरमा गोबरग्यास तथा सौर्य बत्तीको अनिवार्य निर्माणका लागि विशेष अनुदानको व्यवस्था गरिनेछ ।

सामाजिक
— नेकपा एमालेले शुरु गरेको सामाजिक सुरक्षा अन्र्तगतका भत्ताहरू सम्बन्धित व्यक्तिहरूको घर–घरमा नै पु¥याउने व्यवस्था गरिनेछ ।
— प्रत्येक वडामा ऐतिहासिक पाटी, पौवा, एवं सत्तलको निर्माण गरी समाजका जेष्ठ नागरिक लक्षित भजनघर योग केन्द्र सामाजिक परामर्श केन्द्रहरूको स्थापना गरिनेछ ।
— सडकको दायाँबायाँ वृक्षारोपण गरी नमोबुद्ध नगरलाई हरियाली नगरका रूपमा विकास गरिनेछ ।
— नेपालकै पहिलो बालमैत्री एवं बालश्रम मुक्त नगर निर्माण गर्ने ।
— प्रत्येक वडामा बाल उद्यान तथा मनोरञ्जन पार्कको स्थापना गरिनेछ ।
— बाल अक्षयकोषको व्यवस्थापन गरी सञ्चालन गरिनेछ ।
— नगर भित्र रहेका सार्वजनिक गौचरण, जंगल, बाटो, पाटी, पौवा, पोखरी, पँधेरो चौतारो, घाट लगायतका क्षेत्रमा भएको अतिक्रमणको सत्य तथ्य छानविन गरी संरक्षण तथा मृत्यु संस्कार स्थलको व्यवस्थापन गरिने ।
— प्रत्येक वडामा विशेष पिक्निक स्पटका रूपमा विकास गरिनेछ ।
— फोहोर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोर वर्गिकरण गरी कुहिने फोहोरमार्फत प्राङ्गारिक मल उद्योग स्थापना र नकुहिने फोहोर प्रशोधन उद्योगको स्थापना गरी फोहोर व्यवस्थापनमा दिगो विकास परियोजना लागु गरिनेछ ।
— नगरका बजार क्षेत्रमा सार्वजनिक शौचालयको निर्माण गरिनेछ ।
— शुसासनका लागि प्रत्येक महिना फरक वडामा नगर प्रमुख र सम्बन्धित जनप्रतिनिधि सँग नागरिक सुनुवाई कार्यक्रम गरिनेछ ।
— साहित्य, कला, संस्कृति र वाङ्मयको क्षेत्रमा योगदान पु¥याउने श्रष्टाको सम्मान गरी उहाँहरूले कलालाई सम्बद्धर्न एवं प्रबद्र्धन गरिनेछ ।
— भूमिहिन सुकुम्बासीहरूलाई बासको उचित व्यवस्थापन गरिने ।
— महिला उत्थान, विकास र संरक्षणमा विशेष पहल गरिनेछ ।
— छुवाछुत मुक्त समाज निर्माण गरिने कार्यलाई व्यवहारमा उतारिनेछ ।
— समृद्ध नगर निर्माणमा निर्णायक अधिकार सहितको जनसभागिता गराईनेछ ।

— योजना त राम्रा ल्याउनुभएको छ, नमोबुद्धमा सिंचाई र खानेपानीका लागि ल्याइएको योजनाचाहीँ अलि महत्वकाँक्षी भएन र ?

मलाई त्यस्तो महत्वकांक्षी र असम्भव योजना बनाएजस्तो लाग्दैन । हामीले खानेपानीका लागि दाप्चा क्षेत्रमा रहेका साना मुहानहरूलाई एकत्रित गर्ने हो भने पनि धेरै आवश्यकता पूरा गर्न सकिन्छ । दाप्चाको पानी हामीलाई फुलबारी क्षेत्रमा वितरण गर्न पनि समस्या हुँदैन । फुलबारीका उर्वर जमिन सिंचाई गर्न समेत सहज व्यवस्थापन गर्न सकिन्छ । अर्को कुरा छ । रोशीको पानी लिफ्ट प्रविधिमार्फत ल्याउने । तपाईंले यसलाई महत्वकाँक्षी योजना भन्न खोज्नु भएको होला । तर यो योजना महत्वकाँक्षी र धेरै खर्चिलो पनि छैन । हामीले लिफ्ट प्रविधिबाट सञ्चालित योजना हेरेर । अनुभव प्राप्त गर्नुहुने व्यक्तिहरूसँग छलफल गरेर यो योजना अघि सारेका छौं । यहीँ काभ्रेको मण्डनदेउपुरमा एउटा मेसिनबाट १२ सय मिटर माथि तीन इन्चको पानि तान्ने कार्य सफल भएको छ । हामीले त्यसलाई शिक्षाको रूपमा लिएर केही विस्तार गरी प्रयास गरे सफल हुने देखेर यो योजना अघि सारेका हौं । यहाँ सफल हुन नसक्ने कुनौ योजना छैनन् ।

— तपाईंले निर्वाचनमा विजय हासिल गर्नुभयो भने जनतालाई कसरी सेवा दिनुहुन्छ ?

म नगर प्रमुख हुने कुरामा अर्थात निर्वाचन जित्ने कुरामा विश्वस्त छु । म सँग भिजन छ । नगर बनाउने क्षेमता छ । वाह्य तथा आन्तरिक स्रोतको परिचालन गर्न सक्ने आत्वविश्वास छ । र यहाँका आमाबुबा दाजुभाइ दिदीबहिनीहरूले मलाई नजिकबाट नियाल्नु भएको छ । उहाँहरूमा टिपीले कसैलाई भेदभाव नगरी सेवा गर्छ भन्ने विश्वास दिलाएको छु जस्तो लाग्छ । त्यसैले पनि म आम जनताबाट अनुमोदित हुनेमा ढुक्क छु । उहाँहरूको मत लिएर अनुमोदित भएपछि मैले उहाँहरूको सेवा गर्नु कर्तव्य हो । म आफ्नो कर्तव्यम दृढ छु । मैले सेवा गर्दा सबै जनतालाई समान नजरले हेर्नेछु । कसैले सेवा प्राप्त गर्नबाट बञ्चित हुनुपर्ने छैन । मेरो नेतृत्वको नगरमा कुनै जात, धर्म, विचार, भाषा, लिङ्गको विदेद हुने छैन । सबै नागरिकले समान सेव सुविधा पाउनेछन् ।

अन्त्यमा केही भन्नु छ ?

यो निर्वाचन स्थानीय सरकार बनाउने निर्वाचन भएकाले म आम नगरवासीलाई भोलीका दिनमा समृद्ध नगर बनाउने भिजन सहितको नेतृत्वलाई मत दिन आग्रह गर्दछु । र भोलीका दिनमा नगरमा प्राप्त हुने सेवा सुविधलाई सहज रूप जनताको घर आँगनमा पुर्याउने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु ।

 

Comment Here!

सम्बन्धित