Latest

अबको चापाकोटको नेतृत्व कस्तो ?

वल र धनको आधारले अबको राजनीति चल्दैन ।

Public Date:-2017-03-27

जगदिश डोटेल/हाल बेइजिङ, चीन

चापाकोट र सेरोफेरोको कुरा गर्दा जानकारहरुका अनुसार यस क्षेत्रमा स्व.रामभक्त भण्डारी, स्व.भुवनेश्वर आचार्य लगायतका नेतृत्व अब्बल र केन्द्रसम्म पहुँच राख्ने क्षमता भएका नेता थिए ।

जसको पालामा यस क्षेत्रको विकासको गति नेपालमा भएका विकास मध्य तिब्र मानिन्थ्यो । उनिहरुसंग सहि समयमा सहि निर्णय लिन सक्ने क्षमता, जनतासंगको स्वस्थ हातेमालो गर्दै केन्द्रको ढोका ढक्ढकाउने खुबी थियो । जसकारण सदरमुकाम र केन्द्र देखि दुर्गममा भएर पनि बैंक सेवा, शिक्षा, सिँचाई, खानेपानी जस्ता आधारभूत आवश्यकता परिपूर्ती भई यातायातको ढोका खुलेको थियो र यो समयलाई यस क्षेत्रको विकासको स्वर्णीम युग मान्न सकिन्छ ।

त्यस समयको चापाकोटको विकासलाई पहिलो पूस्ताको नेतृत्वले बनाई दिएको आधार मान्न सकिन्छ । हो सधैं एकै मान्छे नेतृत्वमा रहदैन, नेतृत्व हस्तान्तरण हुन्छ । तर दुर्भाग्य भन्नुपर्छ दोस्रो पूस्तामा नेतृत्वको विकास हुन सकेन वा क्षमताको अभाव भयो । त्यसपछि लगातार खास नेतृत्वको विहिनतामा गुर्जियो चापाकोट ।

प्रजातन्त्रको पुन स्थापना र वहुदलको विजारोपणसंगै भएको विभिन्न चरणका संसदीय चुनावमा कहिले नेपाली कांग्रस त कहिले एमालेले जिते तर यस क्षेत्रका जनता केवल भोटदातामा मात्र सिमित रहे कतिले त आफैले भोट हालेर जिताएका नेता सम्म चिन्न पाएनन्, विकासको कुरा त परै रह्यो । एक दुई पटक भएको स्थानिय निर्वाचनबाट आएको नेतृत्व पनि घर झगडामा नै सिथिल भयो ।

  • कथित १० वर्षे माओवादि जनयुद्धले देश नै आजित भएको अवस्थामा यो क्षेत्र अछुतो रहन कुरै भएन । जुन असरले चापाकोट विसौं वर्ष पछि धकेलिदा पारि पाल्पा रामपुरको त्यस समयको नेतृत्वले आफूलाई अब्बल सावित गरे । तत्त समयको रामपुरको नेतृत्वले धेरै भौतिक तथा मानविय क्षति हुनबाट जोगायो जुन सफल कुटनितिक क्षमता हो । त्यो क्षमता चापाकोट र यस क्षेत्रमा दोस्रो पुस्ताको नेतृत्वमा देखिएन ।

चापाकोट र यस क्षेत्रमा भएका कति दुर्घटना तथा क्षति नेतृत्वको सहि समयमा सहि निर्णय लिन नसक्दा भएको देखिन्छ ।

जसले गर्दा यस क्षेत्रबाट बसांई सरेर जाने दर दिनानु दिन बढ्यो र बाहिरवाट आउन चाहाने डरले गर्दा आएनन्, जुन कारणले विकासको गतिमा नकारात्मक असर पा¥यो । यसको जिम्मेवारी दोस्रो पुस्ताको नेतृत्वले लिनु पर्छ ।

प्रसस्त सम्भावना बोकेको चापाकोट र यस क्षेत्रले लामो अन्तराल पछि विस्तारीत संरचनाकमा नेतृत्व चयन गर्दैंछ । झन्डै २० वर्षको अन्तराल पछि हुन लागि रहेको स्थानिय चुनावको हल्लासंगै गाउँ नगरमा नेतृत्व दावीको लागि दौडधुप देखिन्छ, जुन स्वभाविक हो । तर अब चयन हुने तेस्रो पुस्ताको नेतृत्व धेरै कुरामा स्पष्ट हुन जरुरत छ ।

नेतृत्व के का लागि किन भन्ने कुरा जनता समक्ष स्पष्ट संग राख्नुपर्छ ताकी अबको नेतृत्व विगतको जस्तो असफल नहोस् । अबको नेतृत्वमा चापाकोट र यसक्षेत्रको विकासको स्पष्ट खाका हुनुपर्छ ।

संघियता कार्यन्वयन संगै पुनसंरचनाको नयां स्थानिय तहमा काम गर्न त्यति सजिलो पक्कै छैन । फराकिलो क्षेत्राधिकार, केन्द्रको स्रोत भन्दा स्थानिय स्रोत परिचालनमा जोड दिदैं आर्थिक, सामाजिक, नैतिक विकासको मुद्धा हुनेले मात्र अवको नेतृत्व वहन गर्न सक्छ ।

  • वल र धनको आधारले अबको राजनीति चल्दैन । दल, वल र धन भन्दा माथि उठेर उदार भावको राजनीतिको आवश्यक छ ।

त्यसका लागि यस क्षेत्रका प्राकृतिक स्रोतको पहिचान र परिचालन, औधोगिक क्षेत्रको सम्भावनाको अध्ययन, पर्यटन, शिक्षा, यातायात, खानेपानी, स्वास्थ्य, सञ्चार, सिंचाई, कृषि उत्पादन तथा व्यवस्थापन, फोहोर मैला व्यवस्थापन लगायतका विकासका पूर्वाधारको स्पष्ट योजना जनता समक्ष प्रस्तुत गर्नुपर्छ र त्यही अनुरुपको कार्यक्षमता हुनुपर्छ ।

दलगत राजनीतिले थिचिएको जनताको मानसिकतालाई सामाजिक, राजनीतिक तथा नैतिक चेतनाको आवश्यक छ । वहुभाषिक, वहुजातिय तथा वहु–धार्मिक जनता बसोबास गर्ने यस क्षेत्रमा आर्थिक, सामाजिक तथा शैक्षिक रुपले पछि परेको वर्गको यथार्थ पहिचान गरी, तिनीहरुको जीवन स्तर उकास्ने योजना हुन जरुरत छ ।

भाषा, साहित्य, संकृति तथा लोपोन्मुख हुन लागेका कलाको संरक्षण गर्नका लागि दक्षता राख्नु पर्छ । वाध्यताबस जीविकोपार्जनका लागि वैदेशिक रोजगारमा गएका तमाम युवाहरुलाई आफ्नै जन्मथलो फर्काइ, रोजगारको अवसर जुटाई दिनुका साथै स्वरोजगारको वातावण मिलाई दिने क्षमता हुनुपर्छ ।

दुर दृष्टि राख्ने, स्पष्ट वक्ता, पारर्दशी जो संग चापाकोटलाई आफ्नो कार्यकालमा नमुना नगरपालिका बनाउने योजना र कार्यक्षमता छ, उस्ले नै अबको नेतृत्व समाल्नु पर्छ । यसो भएमा पहिलो पुस्ताले बनाएको विकासको स्वर्णीम युगले सार्थकता पाउने छ ।

Comment Here!

सम्बन्धित