Latest

चुनावी प्रतिस्पर्धामा एमाले पहिलो हुने कुरामा हामी विश्वस्त छौँ

Public Date:-2017-03-22

 

जनार्दन अधिकारी

स्थानीय निर्वाचन नजिकिएसँगै नयाँ संरचनामा स्थानीय तहको नेतृत्व गन उम्मेदवारी घोषणा गर्ने क्रम चलेको छ । मुलुकमा नयाँ संविधान जारी भएर हुन लागेको पहिलो निर्वाचनले यतिबेला काभ्रे जिल्लाको राजनीतिक माहौल तातेको छ । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू टिकेटका लागि दौडधुपमा छन् यतिबेला । यस्तै दौडमा छन् नेकपा एमालेमा रहेर लामो समयदेखि राजनीतिमा सक्रिय रहेका नेता जनार्दन अधिकारी । पञ्चायती व्यवस्थाको अन्त्यतिर २०४६ सालमा विद्यार्थी आन्दोलनसँग जोडिएए २०५० सालमा अनेरास्ववियु काभ्रे जिल्ला कमिटिको अध्यक्ष हुँदै केन्द्रीय कमिटि सदस्य समेत बनेका अधिकारी युवा संघ काभ्रेको जिल्ला सचिव हुँदै २०५८ सालदेखि झण्डै १३ वर्ष पार्टी जिल्ला कमिटि सदस्य भएर संगठन विभाग प्रमुखको जिम्मेवारीसमेत निर्वाह गरेका अधिकारी भूम्लु गाउँपालिकाको अध्यक्षमा निर्वाचन लड्ने तयारीमा रहेका छन् । अधिकारीसँग निर्वाचन सँग आधारित रहेरे गरेको कुराकानीको सम्पादित अंश :


अहिले तपाईँ के गर्दै हुनुहुन्छ ?

हाम्रो पार्टी नेकपा एमालेका स्थानीय कमिटिहरुले आयोजना गरेका विभिन्न गतिविधिहरुमा संलग्न भइराखेको छु । त्यसका अलावा स्थानीय तहको घोषणापछि स्थानीय सरकारका संविधान प्रदत्त अधिकार र कर्तव्यहरुको कार्यान्वयन के कसरी गर्नु पर्छ, काभ्रे जिल्लाको समृद्धि के कसरी गर्न सकिन्छ भन्ने बारेमा अध्ययन गरिराखेको छु । पार्टीले स्थानीय तहको निर्वाचनका सन्दर्भमा काभ्रे जिल्लाका लागि पार्टीको घोषणा पत्र जारी गर्नु पर्छ र त्यसका आधारमा चुनावमा जानु पर्छ भन्ने मेरो मान्यता छ । त्यसका लागि पार्टीलाई सुझाव दिन भनेर तयारी गरिराखेको छु । ‘समृद्ध भुम्लु गाउँपालिका’ बनाउन पार्टीले के कस्तो योजना बनाउनु पर्छ भनेर पनि अध्ययन एवम् सुझाव सङ्कलन गर्दै छु । पेसागत हिसाबले भन्नुपर्दा म जिविकोपार्जनका लागि कलेजमा प्राध्यापन गरिरहेको छु ।

स्थानीय तहको चुनावको कुरा गर्नु भयो ? तपाईलाई चुनाव तोकिएकै समयमा हुन्छ जस्तो लाग्छ ?

स्थानीय तहको चुनाव हुनै पर्छ भन्ने हाम्रो मान्यता हो । जनताले चुनाव चाहेका छन् । लोकतान्त्रिक गणतन्त्र स्थापनापछि संविधानले निश्चित गरेका जनताका आर्थिक, सामाजिक र राजनीतिक अधिकारहरुको कार्यान्वयन गर्ने आधारभूत निकाय भनेकै स्थानीय सरकार हो । विकास निर्माण एवम् समृद्धिको सपना पुरा गर्ने माध्यम नै स्थानीय सरकार हो । चुनावले मात्र वास्तविक रुपमा जनताको सरकार स्थापना गर्न सक्छ । तर सरकार स्थानीय चुनाव गराउनबाट पन्छिने निहुँ खोजिरहेजस्तो अनुभूति जनताले गरिरहेका छन् । चुनाव नभए जनता आन्दोलत हुनुपर्ने अवस्था आउँछ त्यसैले बाध्य भएर सरकार स्थानीय चुनावबाट भाग्न सक्दैन भन्ने मलाई लाग्छ ।

तपाईँपनि भुम्लु गाउँपालिकाको अध्यक्षमा उठ्ने चर्चा छ नि ? तपाईले पार्टीबाट टिकट पाउनु हुन्छ ?

हामी निरन्तर जनताको बिचमा छौँ । पार्टीले सञ्चालन गरेका अभियानहरुमा संलग्न छौँ । विगतमा लोकतान्त्रिक संविधान बनाउने पार्टीको अभियान थियो । एमालेले सरकारमा रहँदा वा सरकारबाहिर रहँदा जनताको पक्षमा गरेका कार्यहरुमा म पनि पार्टीको एउटा सिपाहीको नाताले आफ्नो जिम्मेवारी अनुसार आफ्नो ठाउँबाट सहभागी छु । काभ्रे जिल्लाको पार्टी काममा विगत २७ वर्षदेखि म निरन्तर सक्रिय छु । मेरो गाउँपालिकाभित्र पार्टी निर्माणको गतिविधि होस् वा जनताका विकास निर्माणका काम हुन्, तिनमा म जोडिएको छु । त्यसैले मेरो उम्मेद्वारीको बारेमा चर्चा हुनु असामान्य होइन । जहाँसम्म टिकटको कुरा छ, हाम्रो पार्टीको विधि र प्रक्रिया अनुसार उम्मेद्वारीको टुङ्गो लाग्छ । पार्टीले कसलाई त्यहाँ उम्मेद्वार बनाउन उपयुक्त ठान्छ, त्यो निर्णय भएको छैन । पार्टीको निर्णय मेरो लागि सर्वोपरि छ ।

तपाईँको राजनीतिक पृष्ठभूमिबारे अलिकता बताइ दिनु होस् न ?

म पञ्चायती व्यवस्थाको अन्त्यतिर २०४६ सालमा विद्यार्थी आन्दोलनसँग जोडिएको हुँ । अनेरास्ववियुमा संगठित भएर २०५० सालमा काभ्रे जिल्ला कमिटिको अध्यक्ष हुँदै पछि केन्द्रीय कमिटि सदस्य समेत बनेँ । युवा संघमा पनि जिल्ला सचिवको रुपमा केही समय काम गरेँ । २०५७ सालदेखि झण्डै १३ वर्ष म पार्टी जिल्ला कमिटि सदस्य भएर संगठन विभाग प्रमुखको जिम्मेवारीसमेत मैले निर्वाह गरेको छु । पार्टीले सञ्चालन गरेका विभिन्न आन्दोलनहरुमा मेरो सक्रिय सहभागिता रहँदै आएको छ । अनेरास्ववियुमा कार्यरत रहँदा करिब ३ वर्ष अन्तर्राष्ट्रिय युवा तथा विद्यार्थी संगठन (ल्ब्क्थ्इ) को कोषाध्यक्ष भई विदेशमा बसेर काम गरेको अनुभव पनि रहेको छ ।

फेरि चुनावकै सन्दर्भको कुरा गरौँ ? भुम्लु गाउँपालिकामा चुनाव कसले जित्छ ?

भुम्लुका जनताले वितगदेखि नै हाम्रो पार्टी एमालेलाई माया गर्दै आएका हुन् । हामीले विगतका स्थानीय चुनाव विजयी भएर जनताको सेवा गर्ने मौका पाएका थियौँ । अहिले त्यो माया झन् बढेको देखिन्छ । त्यसैले चुनावी प्रतिस्पर्धामा एमाले पहिलो हुने कुरामा हामी विश्वस्त छौँ ।

एमालेले चुनाव जित्ने आधारचाहिँ के के हुन् नि ?

भुम्लु गाउँपालिकामा सचेत र इमान्दार जनता बस्छन् । जनताले एमाले र अन्य प्रतिस्पर्धी पार्टीहरुका उनीहरुका दृष्टिकोण, कार्यक्रम र व्यवहारलाई राम्रोसँग बुझेका छन् । लोकतन्त्रको स्थापना, संविधान निर्माण, संविधानमा जनताका अधिकारको सुनिश्चितता गराउने कार्यमा एमालेले निर्वाह गरेको नेतृत्वदायी भूमिका, एमाले नेतत्वको सरकारमा रहँदा भएका कामहरु हाम्रो विजयका मुख्य आधार हुन् । अर्को कुरा, हामीसँग समृद्ध भुम्लु निर्माण गर्ने दृष्टिकोण छ । हामी विकासका एजेन्डाहरुका आधारमा चुनाव लड्दै छौँ । भुम्लु प्राकृतिक सम्पदामा धनी छ, त्यहाँ मिहिनेती जनता बस्छन् । यी दुई कुराले भुम्लुलाई समृद्ध बनाउने आधार प्रदान गर्छ । एमाले मिहिनेती भुम्लुका जनताको साथमा समृद्ध भुम्लु बनाउन चाहन्छ । तेस्रो कुरा भनेको एमालेको सांगठनिक संरचना निकै बलियो छ । जनतासँग घुलमिल भएका, जनताको सेवा गरिरहेका इमान्दार कार्यकर्ताको ठुलो पङ्ति हामीसँग रहेको छ । यिनै कुराहरु नै हाम्रो पार्टीको विजयका मुख्य आधार हुन् ।

 

Comment Here!

सम्बन्धित