Latest

क्षणीक प्रलोभनमा परेर आफ्नो र आम विद्यार्थीहरूको भविष्य अन्धकार नबनाउँ

Public Date:-2017-02-24

यतिबेला स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले विद्यार्थी राजनीति तातिएको छ । विगतका निर्वाचनहरूमा जस्तै यसपटक पनि विभिन्न विद्यार्थी संगठनहरू मैदानमा उत्रिएका छन् । यस पटक राजनीतिमा पहिलेको भन्दा केही फरक पन आएको छ । यस निर्वाचनमा देशभरीबाट नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु अग्र स्थानमा रहेको देखिएको छ । डेढ दशकदेखि विद्यार्थी आन्दोलनमा सक्रिय अनेरास्ववियु की अध्यक्ष नवीना लामाले आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ८० प्रतिशत क्याम्पसमा आफ्नो संगठनका उम्मेदवार निर्वाचित हुने बताएकी छन् । आफ्नो संगठन लामो समयदेखि शैक्षिक र राजनीतिक परिवर्तनको आन्दोलनमा अग्रणी भूमिका खेलेको र राष्ट्रियताको लडाईंमा अब्बल सावित भएकाले विद्यार्थीबीच लोकप्रिय र स्थापित हुन सफल भएको लामाको भनाई छ । उनले एमाले नेतृत्वले राष्ट्रियताका पक्षमा अडान लिएकाले त्यसको प्रभाव स्ववियु निर्वाचनमा समेत पर्ने बताइन् । स्ववियु निर्वाचनबारे लामासँगको कुराकानीको सम्पादित अंशः–

 

नविना लामा : अध्यक्ष अनेरास्ववियु केन्द्रीय कमिटि

अनेरास्ववियुलाई स्ववियु निर्वाचन कत्तिको लागेको छ ?

सबैलाई स्ववियु निर्वाचन लागेको छ । देशकै ठूलो विद्यार्थी संगठनको गरिमा बनाएको अनेरास्ववियुलाई नलाग्ने कुरै भएन । त्यसमा पनि आठ वर्षपछि स्ववियु निर्वाचन हुँदैछ । लामो समयपछि चुनाव हुन लागेकाले उत्साहित र व्यस्त पनि छु ।

स्ववियु निर्वाचनमा संगठनले धेरै खर्च गर्छन भन्ने कत्ति खर्च छुट्याउनुभएको छ, चुनावका लागि ?

हामीले हाम्रा सबै साथीहरूलाई चुनावमा हुने अनावश्यक खर्च नियन्त्रण गर्ने भनेका छौं । यसअघिका स्ववियु चुनावजस्तो असाध्यै खर्चिलो चुनाव यो पटक हुँदैन । हामी प्रमुख विद्यार्थी संगठनले निर्वाचनलाई खर्चिलो र भड्किलो नबनाउन आचार संहिता नै तयार पारेका छौं । प्रचार शैली जस्तै वालपेन्टिङ, पोस्टर÷पम्प्लेट केही प्रयोग नगर्ने भनिएको छ । टि–सर्ट, क्याफ डायरी बाँड्ने काम यसपालि हुँदैन । क्याम्पसहरुमा स्वागत द्वार नराख्ने, कलाकार ल्याएर सांस्कृतिका कार्यक्रम नगर्ने आचारसंहितामै स्पष्ट छ । संगठन परिचालन गर्न केही पैसा चर्ख हुन्छ । तर, चुनावकै परिणाम प्रभावित गर्ने गरी पैसा खर्च हुँदैन । यो चुनावलाई हामी पूर्ण लोकतान्त्रिक चुनाव बनाउन प्रतिबद्ध छौं ।

संगठन परिचालनमा कतिको खर्च हुन्छ ?

संगठन परिचालनका क्रममा यति खर्च हुन्छ भन्न त सकिँदैन । हामीले यत्ति नै भनेर बजेट तोकेका पनि छैनौं । कुनै संगठनहरूले फर्जी विद्यार्थीहरूको भर्नाकालागि ठूलै रकम खर्च गर्छन् भन्ने सुनेको हो । हामीले त्यसो गर्दैनौँ । हामीले फर्जी भर्नाका लागि एक रुपैयाँ पनि दिएका छैनौं र हाम्रो संगठनले त्यस्तो गर्नु आवश्यक पनि छैन ।

स्ववियु चुनावका नाममा आर्थिक संकलन त धेरै भयो होला नि ?

हामी स्ववियु निर्वाचनका नाममा पैसा उठाउँने काम गर्दैनौँ । म पनि स्ववियु सभापति चलाएरै आएको हुँ । तर, कम बजेट भएको सामुदायिक केलजको स्ववियु सभापति थिएँ । स्ववियुमा कहिल्यै घोटाला गरिन । मैले स्ववियुका कार्यक्रम गर्दा जहिल्यै घाटा व्यहोरेको छु । हामी स्ववियु निर्वाचनका नाममा चन्दा उठाउने र खर्च वितरण गर्ने काम गर्दैनौँ । स्थानीय स्तरमा हाम्रा शुभचिन्तकहरूले स्वेच्छिक रूपमा दिएको सहयोगले संगठन परिचालन गर्न निर्देशन दिएको छु ।

अनेरास्ववियुले स्ववियु निर्वाचनमा जित हासिल गर्ने दाबी गर्दै आउनुभएको छ नि ?

अनेरास्ववियु विगतदेखि वर्तमानसम्म विद्यार्थी हतहितका लागि क्रियाशिल संगठन हो । हाम्रो संगठन विद्यार्थीहरुका बीचमा स्थापिथ र लोकप्रिय संगठन हो । हामीले विद्यार्थी हितमा गर्दै आएका काम नै जित्ने आधारहरु हुन् । हाम्रो संगठनले विद्यार्थी हकहितका साथै लोकतान्त्रिक गणतन्त्र ल्याउन ठूलो संघर्ष गरेको छ । शैक्षिक क्षेत्रमा विद्यमान विसंगतिविरुद्ध पनि हामीले आफ्ना कामकारबाहीलाई केन्द्रित गर्दै आएका छौं । हाम्रो जित्ने आधार भनेको हाम्रो संगठन हो र काम नै हो ।

स्ववियुलाई भ्रष्टाचार र अनियमितताको केन्द्र भन्छन् नि ?

हो, स्ववियुमाथि अनियमितता र भ्रष्टाचारको आरोप लागेको छ । अपारदर्शी व्यवहारहरु विगतमा दिनमै भएकै थिए । तर, हामीले स्ववियुलाई साझा, स्वच्छ र मर्यादिन बनाएका थियौँ । तपाईंले पत्रपत्रिका, अनलाइनमा हेर्नुनै भयो कसले र कसरी भ्रष्टाचार भएको थियो भनेर । हामी स्ववियुलाई भ्रष्टाचारबाट मुक्त र नितान्त विद्यार्थीको हक हितमा काम गर्ने संस्थाको रूपमा अघि बढाउन चाहन्छौँ । र हाम्रो नीति पनि त्यही हुनेछ ।

के अब स्ववियुमा भ्रष्टाचार हुँदैन ?

अब हामी स्ववियुमा भ्रष्टाचार गर्न दिंदैनौं । स्ववियुको रक्षा गर्ने र त्यसको छविलाई सुधार्न चाहन्छौं । हाम्रो संगठनले भ्रष्ट र बदमास प्रवृत्तिका मानिसलाई उम्मेदवार नै बनाउँदैनौं । हामीले उम्मेदवारको मापदण्ड बनाएका छौं र चुनावी घोषणापत्रमै स्पष्ट उल्लेख पनि गरेका छौं । गुण्डागर्दी, कालोबजारी गर्ने र शैक्षिक माफियासँग साँठगाँठ भएकाहरुलाई उम्मेदवार बनाउँदैनौं । विगतबाट सिकेर हामी गलत मानिसलाई संगठनमा स्थान दिँदैनौं । विद्यार्थी आन्दोलनको पञ्चायतसँग, राजासँग लडेर आएको इतिहास छ, त्यो इतिहासलाई धुमिल बनाउने काम कहीं कतैबाट हुन दिँदैनौं । स्ववियुलाई नयाँ नेतृत्व उत्पादन गर्ने कारखाना बनाउन चाहन्छौं ।

स्ववियु निर्वाचनका बेला विभिन्न घटना र झडप हुने गरेका छन् नि ?

पहिला त्यस्ता घटना धेरै भए । तपाईंलाई थाहा नै अनेरास्ववियु शालिन र भद्र विद्यार्थी संगठन हो । यहाँ विचारको बहस हुन्छ । लोकतान्त्रिक पद्धतीमा सबै अनेरास्ववियुका नेता कार्यकर्ताहरू विश्वास गर्छन् र त्यसलाई मानेर अघि बढ्छन् । तर विगतका घटनालाई हामी सम्झन पनि चाहन्नौं । किन भने विद्यार्थीका बीचमा जसले काम गरेको छ । जो लोकप्रिय छ, विद्यार्थीको हितमा कसरी क्रियाशिल छ । कलेजको शैक्षिक गुणस्तर सुधारमा के कति योगदान गरेको छ । मुलुकको राष्ट्रियता र विद्यार्थीको शैक्षिक अधिकारका निम्ति अनवरत लागेका विद्यार्थी नै स्ववियुमा आउँछन् र आओस.भन्ने चाहन्छु ।

स्ववियु निर्वाचनमा पहिलेको जस्ता झडप मारपिट हुँदैन त ?

यस पटक धेरै ठाउँमा अहिले सम्मका गतिविधि शान्त नै भएका छन् । जित्नकै निम्ति साम, दाम, दण्ड भेद गर्ने, गुण्डागर्दी गर्ने, अराजकता प्रदर्शन गर्ने एकमुस्ट भर्ना गर्ने जस्ता कामलाई कडाइका साथ रोक्न निर्देशन दिइसेकेको छु । विगतमा भए यतिबेलासम्म कति घटना घटिसकेको हुन्थ्यो । यसपटक हामी विद्यार्थी संगठनबीचमै सौहार्द वातावरणमा निर्वाचन फेस गर्ने सहमति भएकाले छिटपुटबाहेक अप्रिय घटना भएका छैनन् । अब अरू विद्यार्थी संगठनहरूले के गर्छन् र कसरी गर्छन् भन्ने कुरा उनिहरूमा भर पर्ने कुरा हो । तर मेरो आग्रह छ, सबै संगठनले संयमित भएर लोकतान्त्रिक पद्धतीलाई मनन् गरी शान्तिपूर्णरूपमा स्ववियु निर्वाचन सम्पन्न गराऔँ ।

स्ववियु संस्थागत रूपमा हेर्दा थलिइसकेको संस्था जस्तो भएको छ । यो निर्वाचनले स्ववियुको औचित्य पुष्टि होला ?

स्वयवियुको एउटा महत्व, गरिमा र प्रतिष्ठा छ । यो सबै विद्यार्थीहरुको साझा चौतारी हो । वैधानिक मञ्च हो । स्ववियु बदनाम हुनु र यसको औचित्यमाथि प्रश्नचिन्ह उठ्नुमा नेतृत्वमा भएका व्यक्तिहरु जिम्मेवार छन् । स्ववियुमा अराजक कार्यशैली र चरित्रका मानिसहरुलाई संरक्षण गर्ने काम भयो । त्यही कारण स्वविुयुको नेतृत्व गर्नेहरु विद्यार्थी र कलेजको हितमा भन्दा, पाठ्यक्रममा र परीक्षामा भन्दा पैसामा केन्द्रित भए । अनेरास्ववियु बदनाम भएको स्ववियुको छवि सुधार्ने चाहन्छ । स्ववियुमा सुधार गर्न अनेरास्ववियुको नेतृत्व जरुरी भएको छ ।

अहिले स्ववियुमा २८ वर्षे उमेर हद लगाइएको छ नि , त्यो एकप्रकारको सिण्डिकेट लगाएजस्तो भएन र ?

स्ववियु सभापति बन्नकै लागि क्याम्पस ढुकेर बस्ने प्रवृत्ति संस्थागत हुँदै गयो । छोराछोरी क्याम्पसमा नेता भइसक्दा पनि बाउ–आमा स्ववियु सभापति हुनकै लागि भर्ना भइरहने देखियो । त्यही विकृति रोक्न २८ वर्षे उमेर हदको बहस पहिल्यैदेखि चलेको हो । यसपटक हामी सबैले त्यो एजेण्डामा सहमति जनायौं । २८ वर्षे उमेर हदले नेपालको विद्यार्थी आन्दोलन र राजनीतिक आन्दोलनलाई नै मार्ग्निर्देशन गर्नेछ । युवा र रेगुलर विद्यार्थीको नेतृत्व विकास हुन्छ । म २३ वर्षको उमेरमा स्ववियु सभापति भएको हुँ । २८ वर्ष त धेरै हो । तर हामीले विद्यार्थी हुनका लागि यति वर्षको हुनुपर्छ भन्ने सीमा संसारमा कहीं पनि छैन । हामीले पनि २८ वर्षपछि कोही विद्यार्थी हुनै पाउँदैन यो भनेका हौइनौं ।

यो पटकको अनेरास्ववियुको नारा विद्यार्थी हकहित र शैक्षिक मुद्दासँगै राष्ट्रियता पनि जोडिएको छ नि ?

देशको वर्तमान परिस्थिति तपाईंले देख्नु भोग्नु भएकै छ । हाम्रो देशमा सरकारमा बस्नका लागि राजनीतिक दलहरू भारतको साथ लिने गर्छन् आर्शिवाद लिने गर्छन् । आफ्नो देशको स्वाभिमान बेचेर राजनीति गर्न र सत्तामा बस्न पल्केकाहरूकै कारण आज मुलुक भारतवेष्ठित छ । हामीले यसबाट देशलाई मुक्त बनाउँन खोजेका छौँ । तर अनेरास्ववियुले यसपटक मात्र राष्ट्रियताको मुद्दा उठाएको भन्ने नै गलत कुरा हो । अनेरास्ववियुको जन्म नै राष्ट्रियताको आन्दोलनबाट भएको हो । जब राष्ट्रियता संकटमा पर्छ, विदेशीले देशको सिमामा हस्तक्षेप गर्छन् त्यतिबेला अनेरास्ववियु मैदानमा आउने गरेको छ । हामी राष्ट्रियताकै लागि कालापानी, सुस्ता, महेशपुर÷लक्ष्मणपुर बचाउ अभियान, मातृभूमि सन्देश र सीमा सुरक्षा अभियान सञ्चालन गरेको संगठन हो । यस्तै राष्ट्रियता र सिमा मिचिएको विषयमा सीमाविदहरुसँग अन्तरक्रिया र छलफल गर्ने तथा अन्तर्रा्ष्ट्रिय स्तरमै सन्देश पु¥याउने काम गर्दै आएका छौं । अहिले मात्र राष्ट्रियतालाई एजेण्डा बनाएको भन्दा अनेरास्ववियुको इतिहासमाथि ठूलो अन्याय हुन्छ ।
नेपाललाई विदेशी शक्तिको प्रयोगको थलो बनाउने प्रयत्नहरु भइरहेका छन् । विश्वका दर्जनौं मुलुक अरुको उपनिवेश बन्नुपरेको हामीले देखेका छौं । तर, नेपाल इतिहासमा एक दिन पनि कसैको अधिनस्ध भएको छैन । बलभद्र कुँवर, भीमसेन थापाहरुको उत्तराधिकारी संगठन हो अनेरास्ववियु । हामी नेपाली कसैको गुलाम र दलाल बन्न तयार छैनौं । राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, सामाजिक न्याय, प्रजातन्त्र, गणतन्त्रभन्दा माथि कोही हुँदैन भन्नेमा हामी स्पष्ट छौं ।

राष्ट्रवादी नेताका रुपमा उदाएका एमाले अध्यक्ष केपी ओलीको व्यक्तित्वलाई भोटमा कन्भर्ट गर्न खोज्नुभएको हो ?

अनेरास्ववियु त्यसैपनि विद्यार्थीको विश्वास जितेको संगठन हो । यहि एउटा संगठन हो जसले विद्यार्थीका अधिकारलाई दिगो रूपमा स्थापित गराएको छ । यसले एमाले पार्टीलाई विद्यार्थीको हक अधिकारका लागि प्रयोग गरेको छ । तर यहाँ विद्यार्थीलाई पार्टी र निर्वाचनमा मात्र प्रयोग गर्ने संगठनहरू पनि छन् । त्यो विद्यार्थीले बुझेका छन् । हामीले भनिरहनु जरुरी छैन ।

एमालेमा धेरै दिग्दज र विशिष्ट विशेषता भएको नेताहरु हुनुहुन्छ । हिजो मनमोहन अधिकारी, मदन भण्डारीदेखि लिएर केपी, माधव नेपाल, बामदेव गौतम, ईश्वर पोखरेल लगायतका एक सय एक नेता एमालेमा हुनुहुन्छ । एमालेले नौ महिना सरकारमा बस्दा मुलुक र राष्ट्रियताको पक्षमा गरेका कामहरुको भने हामी चुनावका बेला प्रचार गर्छौ र विद्यार्थीहरु यी कुराले आफूतर्फ आकर्षित गर्ने कोसिस हुन्छ ।

सुगौली सन्धिदेखि अहिलेसम्मको अध्ययन गर्ने विषयमा नेपाल र भारतका विज्ञ समूह गठन भयो, यो केपी ओलीको राष्ट्रवादी काम हो । त्यत्ति मात्र नभएर सधैं भारतसँगको बजारको एकाधिकार तोडेर चीनसँग सम्झौता ग¥यो । त्यो पनि राष्ट्रवादलाई बलियो बनाउन ओली सरकारले गरेको राम्रो काम हो । चुनावमा जाँदा हामी ओली सरकारले मुलुकका हितमा गरेको कामबारे विद्यार्थीलाई बुझाउँछौ । केपी ओलीले गरेको राष्ट्रवादी कामका लागि अनेरास्ववियुलाई एक भोट दिनुस् भन्छौं । अनेरास्ववियुलाई दिएको एक भोट केपी ओलीलाई राष्ट्रियताका पक्षमा लड्नका लागि हौसला हुनेछ ।

हामी ओली सरकारको कामलाई मात्र राम्रो भन्दैनौं । बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेको बाटो फराकिलो पार्ने काम र प्रचण्ड नेतृत्वको वर्तमान सरकारको लोड सेडिङ अन्त्यको कामको पनि हामी तारिफ नै गर्छौं । राम्रा कुरालाई राम्रो भन्न नसक्ने र नराम्रोको मात्र चर्चा गर्ने राजनीतिक प्रवृत्तिको शिकार चाहिं युवापुस्ता बन्नु हुँदैन । यो स्ववियु राष्ट्रवादी र राष्ट्रघाती लम्पसारवादीबीचको प्रतिस्धर्पा हो । विदेशीको निर्देशनमा कसले काम गरिरहेको छ र को विदेशीको निर्देशन लत्याएर राष्ट्रियता र राष्टिन्य हितको पक्षमा उभिएको छ भन्ने कुरा युवाहरुले बुझ्नुपर्छ ।

अन्त्यमा केही भन्नु छ ?

स्ववियु निर्वानको बेला छ । आम विद्यार्थीहरूलाई म विगत देखिको इतिहास अध्ययन गरेर जुन संगठनले विद्यार्थीलाई दिगो रूपमा फाइदा हुने काम गरेको छ र विद्यार्थीका हक अधिकार स्थापित गराएको छ त्यही विद्यार्थी संगठनलाई मतदान गर्न अनुरोध गर्दछु । क्षणीक प्रलोभनमा परेर आफ्नो र आम विद्यार्थीहरू भविष्य अन्धकार नबनाउन आग्रह गर्दछु ।

Comment Here!

सम्बन्धित